नेपालमा काेराेना सङ्क्रमणबाट थप १ जनाकाे ज्यान गएको पुष्टि

 जेठ ४, २०७७ आइतबार १६:४१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट अर्का एक जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । 

शनिबार राति बाँकेको नरैनापुर गाउँपालिकाको क्वरेण्टीनमा बसेका युवाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैशाख ३० गते भारतबाट आएर दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवाको आइतबार बिहान ज्यान गएको हो । यसबारे थप विवरण आउँन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ । 

नरैनापुरकाे विभिन्न क्वरेण्टीनमा बसिरहेका दुई सय ६३ जनाको शनिबार नै स्वाब सङ्कलन गरिएकाे थियो । मृतकका आफन्त र स्थानीयबासीन्दाले भने समयमै अस्पताल पुर्‍याउन नसकेकाे कारण युवकको ज्यान गएको दाबी गरेका छन् । स्थानीयबासिन्दाले पीपीईकाे अभावमा एम्बुलेन्स चालकले अस्पताल पुर्‍याउन नमानेको आरोप लगाएका छन् । 

नरैनापुरमा युवकको ज्यान गएसँगै नेपाली सेनाकाे उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मृतक युवककाे शव क्वरेण्टीनमै रहेकाे अन्त्येष्टि कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो । 

यसअघि गएको बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको कोरोनाकाे कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको थियो । आइतबार रौतहटका १० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई सय ९१ पुगेको छ । ३६ जना उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया