‘कराइस् भने मार्दिन्छु भन्दै चक्कु देखाएर ६ लाख लुटे’

 साउन १५, २०७५ मंगलबार १७:२४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुर नगरपालिका वडा नं. ८ ल्यासिंखेल चुपिनघाट, कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर मंगलबार दिउँसो ६ लाख लुटेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने  ५४ वर्षीय परशुराम बजगाईले घरबाट ल्याएको चार लाख रुपैयाँ र कमलविनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको दुई लाख गरि  ६ लाख लिएर सूर्यविनायकतर्फ जाँदै गर्दा लुटेराले लुटपाट गरेका हुन् ।

दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिँडेरै सूर्यविनायकतर्फ जाँदै गर्दा एकान्तमा पारेर मोटरसाइकलमा मास्क लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईले बताउनुभयो । 

निर्माण व्यवसायीसमेत रहनु भएका बजगाईले भन्नुभयो, ‘पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जाँदै थिए, मोटरसाइकलमा आएका व्यक्तिले चक्कू झिकेर कराइस् भने मारिदिन्छु भनेर पैसाको झोला खोसेर लगे, मेरो होश हवास नै उड्यो ।’

घटना भएलगत्तै महानगरीय प्रहरी परिषर भक्तपुरलाई घटनाबारे जानकारी गराएको बताउँदै पीडितका भाइ सोम शर्मा (बजगाई) ले घटनाको तत्काल अनुसन्धान गीर लुटेरा पक्राऊ गरी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराउन माग गनुृभयो । 

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले घटनाको जानकारी आए लगत्तै चारैतर्फ कडाईका साथ चेकजाँच गरेर लुटेराको खोजी भइरहेको बताउनुभयो । 

उहाँले बैंकको भित्र रहेको सीसी क्यामरा र अन्य अनुसन्धानको प्रक्रिया अपनाएर लुटेराको खोजी भइरहेको बताउनुभयो । उहाँले जिल्लाका चारवटै नगरपालिकाहरुले नगरभित्रका विभिन्न स्थानमा सिसि क्यामरा जडान गर्नुपर्ने बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले सरकारी बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेडले बैंक बाहिर सीसी क्यामरा नराख्दा अनुसन्धानमा समस्या आएको बताउँदै बैंकहरुको लापरवाहीले पनि यस्ता घटना घट्ने गरेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया