सरकार विरोधी कांग्रेसको प्रदर्शन : सर्वसत्तावादी सोच नत्यागे रुँदै सरकार छाड्न बाध्य पार्ने चेतावनी

 साउन १५, २०७५ मंगलबार १८:०:२९ | उज्यालो सहकर्मी

कांडमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्श गरेको छ ।

सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रर्दशनमा उत्रेको नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा पनि सरकारको चर्को आलोचना गर्दै प्रर्दशन गरेको छ । काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको र्‍यालीसहितको विरोध प्रदर्शन असन, इन्द्रचोक, न्यूरोड, न्यूरोड गेट हुँदै पुनः शान्ति वाटिकामा आएर कोणसभामा परिणत भएको थियो ।

 

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले सर्वसत्तावादी सोच तत्काल नत्यागे रुँदै सत्ता छोडन सरकार बाध्य हुने चेतावनी दिएका छन् । कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादी सोच नत्यागे कानुन मन्त्री शेरबहादुर तामाङले झै रुँदै सत्ता छोड्न नागरिकले बाध्य बनाउने चेतावनी दिनुभयो ।

उहाँले राजनीतिक स्थिरता र समृद्धिको नारा दिएको सरकारले मुलुकमा अस्थिरता निम्त्याएको, समृद्धिका बाहक शक्ति आफ्नो पार्टीलाई निषेध र नियन्त्रण गर्न खाजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सरकारलाई निषेध र नियन्त्रणको राजनीति नगर्न चेतावनी दिनुभयो । उहाँले ५ वर्षका लागि म्यान्डेट पाएको सरकारले ५ महिना नपुग्दै नागरिकलाई दिक्क बनाएको दाबी गर्दै नागरिकका अगाडि सरकारको सर्वसत्तावाद नटिक्ने तर्क गर्नुभयो ।

यस्तै नेपाली कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारलाई दम्भको श्रीपेच फुकाल्न आग्रह गर्नुभएको छ । बहुमतको सरकार बनेका बेला दम्भ हटाई जिम्मेवार भएर अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रवक्ता सुझाव दिनुभयो । झापाको चन्द्रगढीमा आयोजित सरकारविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले कंग्रेसलाई बल प्रयोग गरेर नियन्त्रण गर्न नसकिने बताउनुभयो ।

उहाँले सरकारलाई विवेकको पछि लाग्न सुझाव दिदै भन्नुभयो, ‘विवेकको बाटो लाग्नुभएन भने दम्भको श्रीपेच राखिरहनुभयो भने तपाईँले निषेधाज्ञा लगाएर ठाउँठाउँको जुलुस त रोक्न सक्नुहोला तर तपाईँलाई नै भोट दिएर हृदयमा केपी ओलीको तस्बिर राखेर जो जनता बसेका छन्, तीनले आफ्नो हृदयबाट तपाईँको तस्बिर फुकाल्नका लागि कुनै निषेधाज्ञाले छेक्ने छैन ।’

सभालाई सम्बोधन गर्दै कंग्रेस नेता कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट नेतृत्वको सरकारलाई रमाउन नभएर जनताको सेवाका लागि पठाएको बताउनुभएको छ  । नेता सिटौलाले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई इंगित गर्दै हिजोका दिनमा जनताका लागि मैदानमा आउनुभएको तर आज तिनै जनताको अधिकारमाथि दमन गरिरहेको आरोप लगाउनुभयो ।

झापाका बिभिन्न सहरबाट निकालिएको विरोध र्याली चन्द्रगढस्मा पुगेर सभामा परिणत भएको थियो । नागरिकलाई महङ्गीको भार बढाएको र सरकार सर्वसत्तावादी शैलीमा अघि बढेको आरोपमा नेपाली कांग्रेसले मंगलबार देशभर विरोध गरेको हो ।

देशका प्रमुख शहरहरुमा नेपाली कांग्रेसले सरकारको काम कारबाही विरुद्ध र्याली जुलुससहित प्रदर्शन गरेको छ । कांग्रेसले मंगलबार कैलालीको धनगढीमा पनि विरोध प्रदर्शन गरेको छ । धनगढीको ट्राफिक चौराहदेखि सुरु भएको र्‍याली पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कैलालीबाट विरोध कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख र जनविरोधी रहेकोले आफूहरुले देशव्यापी रुपमा सडकमा उत्रेर विरोध गर्नुपरेको बताउनुभयो ।

संविधानमा एउटै पार्टीका दुईजना सभामुख र उप–सभामुख रहने प्रावधान नभए पनि नेकपाले त्यो नियम उल्लङ्घन गरेको लेखकको आरोप छ । प्रधानन्यायधिशको एक महिना भित्रमा नियुक्ति गरिनुपर्ने भए पनि सरकारले चार महिनासम्म केही नगरेको लेखकले आरोप लगाउनुभयो । लेखकले नेकपाको सरकार आएपछि पाँच पटक पेट्रोलियम पदार्थको वृृद्धि हुनु पनि अधिनायकवादको संकेत भएको बताउनुभयो ।

यस्तै रामेछापमा पनि नेपाली कांग्रेसले सरकारको कार्यशैलीको विरोधमा बृहत् जुलुस निकालेको छ ।

धनकुटामा पनि नेपाली कांग्रेसले जुलुससहित सरकारको विरुद्ध सडकमा प्रदर्शन गरेको छ । मूल्य वृद्धि फिर्ता हुनुपर्ने, कर वृद्धि रोक्नुपर्ने, अघिल्लो सरकारले गरेका लोकप्रिय निर्यण लागू गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेस कार्यकर्ताले धनकुटामा प्रदर्शन गरेको हो ।

कांग्रेसले सरकारविरुद्ध बझाङमा पनि बृहत प्रदर्शन गरेको छ ।  नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले मूल्य वृद्धिको विरोधमा चैनपुरमा विरोध जनाएका हुन् । चितवनमा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

चितवनका विभिन्न ठाउँबाट र्‍यालीसहित चौबिसकोठीमा जम्मा भएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाएका थिए ।

विरोध कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले छोटो समयमै सरकारको विरोध गर्न मन नभए पनि सरकारले पछिल्लो समय देखाएको क्रियाकलापले कांग्रेस सडकमा आउन बाध्य भएको बताउनुभयो ।

नेता  भण्डारीले सरकारले नागरिकलाई मार पार्ने काम गरिरहे कांग्रेस चूप लागेर नबस्ने बताउनुभयो । 

–चितवनबाट राधेश्याम खतिवडा, झापाबाट सुश्मा राजवंशी, बझाङबाट डीबी विष्ट, कैलालीबाट निर्मला खडायत, रामेछापबाट दिपक भट्ट र धनकुटाबाट सन्तोष रुचालको सहयोगमा


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Bsdi

    Aug. 1, 2018, 1:17 a.m.

    Woleysacarla janatalai kepane dedina. Janata chusara mantri samsad aane sachiba aaru motunakam garakocha .herejanataho sadakma aau chulagare basna hoyena aaba

  •  0 Reply

तपाईको प्रतिक्रिया