त्रिभुवन विमानस्थलमा विज्ञापन हटाएर नेपाल चिनाउने सामग्री राखिँदै

 साउन १५, २०७५ मंगलबार १९:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब नेपालका मुख्य पर्यटकीय गन्तव्यका प्रचार सामग्री राखिने भएको छ । 

अहिले विमानस्थलभित्र र बाहिरका होडिङ बोर्ड, पिलर अनि भित्ताहरुमा धेरैजसो निजी कम्पनीका विज्ञापन राखिएका छन् । पुराना र कच्याककुचुक परेका बोर्ड तथा भित्तामा टाँसिएका कागजलगायतले विमानस्थल कुरुप भएको भन्दै आलोचना भएपछि नेपाल पर्यटन बोर्ड र विमानस्थलले नेपाल चिनाउने सामग्री राख्न थालेका हुन् । 

विमानस्थलमा विदेशी झर्नेबित्तिकै कमसेकम नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक  सम्पदा तथा नेपाली जिवनशैलीका सामग्री हेर्न पाउने गरी तयारी गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उज्यालोलाई जानकारी दिनुभयो । ‘विमानस्थलबाटै नेपाल कस्तो देश हो भन्ने चिनाउन हामीले विमानस्थलसँग सहकार्य गरेर त्यस्ता सामग्री राख्न थालेका छौँ, अब विमानस्थलका पोल, भित्ता र होर्डिङ बोर्डमा नेपाल चिनाउने आकर्षक सामग्री राखिनेछ’, बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो । 

अहिले त्रिभुवन विमानस्थलमा राखिएका प्रचार सामग्रीमध्ये ८० प्रतिशत निजी कम्पनीका विज्ञापन र २० प्रतिशत मात्रै नेपालको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाका सामग्री राखिएका छन् ।

‘अहिले ८० प्रतिशत निजी कम्पनीका विज्ञापन रहेकामा हामीले उल्टो बनाउँदैछौं,  अब २० प्रतिशत मात्रै निजी कम्पनीका विज्ञापन हुनेछन् त्यो पनि आकर्षक मात्रै अनि ८० प्रतिशत नेपाल चिनाउने सामग्री राखिनेछ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले उज्यालो अनलाइनसँग भन्नुभयो । अब विमानस्थलबाट सिमेन्ट, चाउचाउ, चामल जस्ता धेरै कम्पनीका विज्ञापन हटाइने महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो । 

‘अब हामीले निजी क्षेत्रका प्रचार राख्ने सम्झौता नवीकरण गर्दैनौँ, विदेशीले पहिलोपटक नेपाल पाइला टेक्दा ओहो ! नेपाल त यस्तो पो रहेछ भन्ने सन्देश दिने सामग्री राख्नेछौँ’, महाप्रबन्धक क्षेत्रीले भन्नुभयो ।  
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया