मनीषा काेइराला नयाँ नक्साकाे पक्षमा उभिँदा नेपालमा समर्थन, भारतमा आलाेचना

 जेठ ८, २०७७ बिहिबार १५:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले लिम्पियाधुरा कालापानी र लिपुलेकलाई नयाँ नक्सामा समेटेपछि यसले नेपालमा मात्र नभइ भारतमा पनि चर्चा पाइरहेकाे छ । नेपाल सरकारले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्ने निर्णयलाई समर्थन गरेपछि अभिनेत्री मनीषा काेइराला पनि चर्चामा आएकी छिन् । 

काेइरालाकाे एक रिट्वीटपछि उनकाे पाेस्टमा समर्थन र विराेध गर्नेकाे सङ्ख्या बढिरहेकाे छ । मनीषा काेइरालाले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गर्नुभएकाे एक ट्वीटलाई रिट्वीट गरेपछि याे सबै सुरु भएकाे हाे । 

गएकाे साेमबार परराष्ट्र मन्त्री ज्ञवालीले नेपालकाे मन्त्रिपरिषद्ले लिम्पियाधुरा लिपुलेक र कालापानीलाई नक्सामा समावेश गर्ने फैसला गरेकाे र चाँडै नै याे सार्वजनिक गरिने भन्दै ट्वीटमार्फत जानकारी दिनुभएकाे थियाे । 

अभिनेत्री काेइरालाले मन्त्री ज्ञवालीकाे ट्वीटलाई रिट्वीट गर्दै लेखेकी थिइन्, 'हाम्राे सानाे राष्ट्रकाे गरिमालाई बनाइराख्नु भएकाेमा धन्यवाद । हामी सबै तीन महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताकाे आशा गर्छाैँ ।'

मनीषा काेइरालाकाे याे रिट्वीटपछि कमेन्टकाे बाढी आएकाे छ । 

विशेषगरी भारतमा सत्तामा रहेकाे भारतीय जनाता पार्टीकाे मुखपत्रकाे रुपमा चिनिएका टीभी च्यानलहरु मनीषाविरुद्ध खनिएका छन् । यसमा एबीपी न्युज,  जी न्युजलगायत देखिएका छन् । एबीपीले त भारतकाे खाएर चीनकाे गीत गाउने भन्दै आराेपसम्म लगाएकाे थियाे । केही भारतीय प्रयाेगकर्ताले मनीषालाई बहिष्कार गर्नुपर्ने भन्दै ह्यासट्याग चलाएका छन् ।  

अहिले भारतीय मिडियाहरु एकछत्र रुपमा नेपालले सार्वजनिक गरेकाे नक्साकाे पछाडि चीनकाे हात रहेकाे भन्दै बिगुल फुकिरहेका छन् । भारतीय मिडियाहरु आआफ्नै किसिमका विवरण प्रस्तुत गरेर मनीषा काेइरालाकाे खेदाे खन्न तल्लिन देखिएका छन् । 

नेपालमा भने मनीषा काेइरालाकाे समर्थन गर्दै सामाजिक सञ्जालमा उनकाे पक्षमा ह्यासट्याग समेत प्रयाेगमा ल्याएका छन् । उनकाे समर्थनमा नेता, कलाकारदेखि सर्वसाधरणसम्म उत्रिएका छन् । 

उत्सव पाेखरेलले ट्वीट गर्दै दुई देशसँग सम्बन्ध राख्ने कुनै व्यक्तिबाट यस्ताे सुन्दा राम्राे लागेकाे बताएका छन् । 

मनीषा काेइरालाले पूर्व राजा ज्ञानेन्द्र शाहकाे ट्वीटलाई पनि रिट्वीट गरेकी थिइन् तर उनले त्यसमा केही पनि लेखेकी छैनन् । उनकाे त्याे रिट्वीटमा पनि मिल्दाेजुल्दाे कमेन्ट आएकाे छ । 

पूर्व राजा ज्ञानेन्द्र शाहले पनि लिम्पियाधुरा कालापानी र लिपुलेकलाई नयाँ नक्सामा समावेश गर्ने कदमकाे समर्थन गर्नुभएकाे छ । 

नेपाली मुलकी मनिषा बलिउडकी चर्चित अभिनेत्री हुन् । उनी झण्डै ३० वर्षदेखि बलिउडमा सक्रिय छिन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Iswor Thapa

    May 21, 2020, 4 p.m.

    Very Good Work. https://nepaliforum.org/ If you have anything to share, use it please.

  •  0 Reply

तपाईको प्रतिक्रिया