इमरान खानको सपथग्रहणमा मोदी र ओली बन्न सक्छन् पाहुना !

 साउन १५, २०७५ मंगलबार २०:१२:३ | एजेन्सी
unn.prixa.net

अगस्ट ११ हुने प्रधानमन्त्रीको सपथग्रहणमा समारोहमा इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गर्ने सम्भावना रहेको छ । उनको पार्टी पाकिस्तान–तहरिक–ए–इन्साफ(पीटीआई) ले भारतीय प्रधानमन्त्री मोदीसहित सार्कका अन्य नेतालाई समेत बोलाउने विचार गरिरहेको छ । 

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथग्रहण समारोहमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसहित सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई आमन्त्रण गरेका थिए । नेपालका तर्फबाट पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । 

पीटीआईका एक नेताका अनुसार सपथग्रहणमा कस–कसलाई बोलाउने भन्ने बारेमा छिट्टै निर्णय गर्ने बताए । इमरान खानले आफ्नो सपथग्रहणमा भारतीय प्रधानमन्त्री मोदीसहित सार्क देशका सरकार प्रमुखलाई बोलाएर नयाँ कुटनीतिक अध्यायको सुरुवात गर्ने सम्भावना रहेको छ । यस्तोमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओली पनि इमरानको पाहुना बनेर पाकिस्तान जाने सम्भावना रहेको छ । 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान खानबीच टेलिफोन वार्ता भएको र दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुने बताए । पीटीआईका प्रवक्ता फवाद चौधरीले विदेश मन्त्रालयसँग सल्लाह लिएर यस विषयमा छिट्टै निर्णय गरिने बताए । 

सार्क राष्ट्रका सबै सरकार प्रमुखलाई निमन्त्रणा पठाइएमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, अफगानी राष्ट्रपति अश्रफ घानी पनि इमरान खानको सपथग्रहण समारोहमा पाकिस्तान पुग्नेछन् । 

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इमरानलाई फोन गरेर जितको बधाई दिएका थिए । मोदीले दुई देशबीचको सम्बन्ध सुधारका लागि इमरानलाई काम गर्न सुझाव दिएका थिए । 

इमरान खानले चुनावमा आफ्नो पार्टीले जित हासिल गरेलगत्तै पत्रकार सम्मेलनमा पाकिस्तान र भारतको सम्बन्ध सुधार्ने काममा अगाडि बढ्ने बताएका थिए । 

सन् २०१६ देखि भारत-पाकिस्तानबीचमा कुराकानी ठप्प

सन् २०१४ मा मोदीको सपथग्रहणमा शरीफ आएका थिए । त्यसपछि सन् २०१५ मा सार्क सम्मेलनका अवसरमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । मोदी र शरीफको वार्ता हुनुमा तत्कालीन नेपाली प्रधानमन्त्री सुशील कोइरालाको हात भएको विशेष चर्चा भएको थियो । २०१५ मै मोदी अचानक पाकिस्तानको लाहोर पुगेर शरीफलाई भेटेका थिए । 

तर २०१५ मा पठानकोट र उडीमा पाकिस्तानी आतंकवादीको आाक्रमण तथा भारतीय नागरिक कुलभूषण जाधवलाई पाकिस्तानी सैन्य अदालतले मृत्युदण्डको सजाय सुनाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ । दुई वर्षदेखि भारत र पाकिस्तानको बीचमा कुनै कुटनीतिक संवाद भएको छैन । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया