सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना, ७७ जिल्लामै उपस्थिति

 साउन १६, २०७५ बुधबार ५:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सशस्त्र प्रहरी बलले संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ । 

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा मंगलबार भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना साउन १ गतेदेखि लागू भएको जानकारी दिनुभयो । 

अहिले ६३ जिल्लामा उपस्थिति जनाएको सशस्त्र प्रहरी बल अब ७७ जिल्लामा उपस्थित हुनेछ । हाल विद्यमान पाँच वटा बाहिनीहरुको संख्या बढाएर सातै प्रदेश र उपत्यकामा एक गरी आठ बाहिनी स्थापना गरिएको उहाँले दिनुभयो । 

त्यस्तै विद्यमान तालीम केन्द्र यथावत राखी थप नयाँ पाँच तालीम केन्द्र स्थापना गरिएको छ । झापादेखि कञ्चनपुरसम्मका सीमावर्ती जिल्ला र सिन्धुपाल्चोकमा हाल रहेका ८७ सीमा निरीक्षण पोस्टलाई अन्तर्राष्ट्रिय मान्यताअनुसार गणबाट परिचालित हुने गरी पोस्टको संख्या बढाइएको छ । 

काठमाडौँ उपत्यका र चितवनको कुरिनटारलगायत सबै बाहिनीमा ५०/५० जनाको दरले विपद् उद्धारका क्षेत्रमा दक्ष जनशक्ति खटिइएको जानकारी दिँदै प्रवक्ता पाण्डेले यस अवधिमा उद्धार कार्यमा चार हजार ७१९ सशस्त्र प्रहरी परिचालित भएको बताउनुभयो । 

आपत्विपद्का समयमा उद्धार कार्यका लागि ७७ वटा छुट्टाछुट्टै टोली गठन गरिएको छ । त्यस्तै १३ स्थानमा एम्बुलेन्ससहित प्राथमिक उपचारको सामग्री तथा अन्य सुरक्षा सामग्रीसहित चौविसै घन्टा तैनाथ छन् । 

सशस्त्र प्रहरी बलमा हाल ३७ हजार १०० जवान तथा अधिकृत कार्यरत छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया