दाङ : ९ दिनमा १३ सय बढी भित्रिए, आउने सङ्ख्या बढेसँगै क्वरेण्टीनकाे क्षमता विस्तार गरिँदै

 जेठ १०, २०७७ शनिबार २०:७:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ –  लकडाउनकाे क्रममा नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका नागरिकहरुलाई घर ल्याउन सुरु गरिएपछि दाङमा नाै दिनको अवधिमा १३ सयभन्दा बढी भित्रिएका छन् । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसकाे कारण भारतमा काम बन्द भएपछि सयौँको सङ्ख्यामा मानिसहरु घर फर्कन थालेका हुन् । रोजगारीकाे लागि भारत गएका ठूलो सङ्ख्यामा मानिसहरु फर्कन थालेपछि पालिकाहरुले धमाधम क्वरेण्टीनकाे क्षमतासमेत बढाउन थालेका छन् । 

कोरोनाकाे कारण काम नभएपछि गाउँपालिकाकाे पहलमा जेठ ९ गतेसम्म चार सय नागरिक भित्रिएको बङ्गलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभएको छ । घर फर्कनका लागि गाउँपालिकाले गाडीको व्यवस्था गरेपछि ठूलो सङ्ख्यामा मानिसहरु फर्कन थालेको उहाँले बताउनुभयाे । 

‘घर फर्कनलाई गाउँपालिकाले गाडीको व्यवस्था गरेपछि धेरै मानिसहरु आइरहनुभएको छ’, गाउँपालिका अध्यक्ष वलीले भन्नुभयो, ‘अहिले ठ्याक्कै तथ्याङ्क भन्न सक्ने अवस्था छैन, करिब चार सय मानिसहरु आइपुग्नुभएको छ ।’ 

शुक्रबार पनि कृष्णनगर नाकासम्म आइपुगेका नेपाली ल्याउनका लागि गाउँपालिकाको गाडी जान थालेको उहाँले बताउनुभयो । ‘अहिले पनि कृष्णनगरसम्म आइपुगेकाहरुले फोन गरिरहनुभएको छ, हामीले त्यहाँ सुरक्षित तरिकाले बस्न आग्रह गरेका छौँ ’, अध्यक्ष वलीले भन्नुभयो, ‘त्यहाँ आइपुगेकालाई लिन गाडी जाँदैछ ।’

बङ्गलाचुलीमा लकडाउनकाे कारण भारतमा रोकिएका झण्डै दुई हजार मानिसहरु आउने अनुमान गरिएको छ । रोजगारीका लागि भारत गएका मानिसहरु फर्किन थालेपछि गाउँपालिका क्वरेण्टीन भरिएर राख्नलाई समेत समस्या हुने अवस्था देखिएको उहाँले बताउनुभयो  ।

‘ठूलो सङ्ख्यामा भारतबाट मानिसहरु फर्किन थालेपछि हामीलाई क्वरेण्टीनमा व्यवस्थापन गर्न समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘फर्किकाहरुको जतिसक्यो चाँडो पीसीआर परीक्षण गरे व्यवस्थापनमा सहज हुने थियो ।’ 

त्यसै तुलसीपुर उपमहानगरपालिकामा जेठ १ गतेदेखि यता एक सय १० जना मानिसहरु आएको उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम अधिकारीले जानकारी दिनुभएको छ ।

उनीहरुमध्ये ८४ जना भारतबाट र बाँकी नेपालमा अन्य जिल्लाबाट आएका छन् । उनीहरु सबैलाई क्वरेण्टीनमा राखिएको उपमहानगरपालिकाले जनाएको छ । ‘अहिले तुलसीपुर उपमहानगरपालिकामा पनि भारतबाट आउने नेपालीहरुको सङ्ख्या बढेको छ’, सूचना अधिकारी बाबुराम अधिकारीले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया