कोभिड-१९ महामारीपछि प्रदेश नम्बर ५ काे नाम र राजधानी टुङ्गो लगाइने

 जेठ १०, २०७७ शनिबार २१:५:३४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर ५ सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने भएको छ । 

आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुङ्गो लगाइने बताउनुभएको हो । 

प्रदेश सभाको बैठकमा उहाँले राजधानीको टुङ्गो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण हुने उल्लेख गर्नुभयो । 'राजधानी तोकिएको ठाउँमा राजधानीका लागि आवश्यक जग्गा प्राप्ति, गुरुयोजनाको निर्माण र अत्यावश्यक संरचनाहरुको निर्माणको कामसमेत सुरु गरिने र प्रदेशको मौलिकता झल्कने गरी प्रदेश सभा भवन निर्माण गरिनेछ', कार्यक्रममा उल्लेख छ ।

समायोजन कार्य सम्पन्न भएसँगै प्रदेशको विकास व्यवस्थापन र शासकीय प्रबन्धमा प्रभावकारिता ल्याउने गरी आवश्यक संरचनागत पुनर्गठन र सुधारको काम अघि बढाउने र त्यसका लागि विज्ञहरु सम्मिलित एक कार्यदल गठन गरिने बताइएको छ ।

कोभिड-१९ को महामारीका कारण प्रदेशको अर्थतन्त्र र विकास निर्माणमा पर्ने नकारात्मक असरलाई कम गर्नेतर्फ प्रदेश सरकारको आर्थिक नीति लक्षित हुनुका साथै यस महामारीले क्षति पुर्‍याएको अर्थतन्त्रको पुनरुत्थान गर्नका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया