नेपाल अाज पहिलाे अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै

जित्ने दाउमा नेपाल

 साउन १६, २०७५ बुधबार ७:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपालले आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ । नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको अाजकाे खेल पहिलो खेल हाे ।  

गएको आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए । नेपालका लागि यो खेल इतिहास पनि हो ।  खेलमा राम्रो लय समाति रहेको नेपालले  एकदिवसीय खेलमा पनि राम्रै प्रदर्शन रहने अपेक्षा गरिएको छ ।

गएको आइतबार नेपाल र नेदरल्याण्डबीच भएको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो । 

नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिन्छ । पछिल्ला दिनहरुमा ब्याटिङ पनि सुध्रिदै गएको छ । यही क्रमलाई निरन्तरता दिँदै नेपालले प्रदर्शन गर्यो भने नेपालले जित हासिल गर्न सक्छ ।  

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन् ।

नेपाली टोलीमा रहेका शक्ति गौचन, सन्दीप लामिछाने, बसन्त रेग्मी, करन केसी र सोमपाल कामी उत्कृष्ट बलर हुन् भने नेपाली टोलीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सुवास खकुरेल, अनिल शाहलाई ब्याटिङको जिम्मेवारी दिइने गरिएको छ ।

नेपाली टोलीको लामो समयको परिश्रम र प्रतीक्षापछि हासिल भएको सफलताका रुपमा यो एक दिवसीय खेललाई हेरिएको कप्तान पारस खड्काले प्रतिक्रिया दिएका छन् । खड्काले आईसीसीसँगको अन्तर्वार्तामा भनेका छन् ‘नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय खेल नयाँ यात्राको थालनी हो। यो स्तरको यात्रालाई निरन्तरता दिँदै टेस्टको मान्यता पाउने अबको लक्ष्य रहेको छ ।’

नेपाली क्रिकेट टिमले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नुका साथै नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । नेदरल्यान्ड्स नेपालभन्दा बलियो टिम हो । नेदरल्याण्डको घरेलु मैदान भएकाले पनि उसलाई केही हदसम्म सजिलो हुने अपेक्षा छ । 

सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया