पर्यटकको नक्कली उद्धार प्रकरण : नेपाल आउने पर्यटक घट्ने डर

 साउन १६, २०७५ बुधबार ७:४६:२८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं – पर्यटकको नक्कली उद्धार प्रकरणले नेपालमा ट्रेकिङ गर्न आउने विदेशी पर्यटकलाई एकपटक सोच्न बाध्य पारेको छ । खानामा मन्द विष मिसाएर पदयात्रीलाई बिरामी बनाउने र हेलिकोप्टरबाट उद्धार गर्ने, पर्यटकलाई डर देखाउने, अस्पतालमा उपचारै नगरी विमा रकम दावी गर्ने लगायतका घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाउन थालेसँगै नेपाल आउने पर्यटकको संख्यामा कमी आउने त होइन भन्ने शंका उब्जिएको छ ।

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल टान लगायतका निकायले पर्यटकको नक्कली उद्धार गरेर पर्यटन क्षेत्रको बदनामी गराउने हेलिकोप्टर कम्पनी,  ट्रेकिङ एजेन्सी र अस्पताललाई कारबाही गरेर थप गलत सन्देश जान दिन नहुने बताएका छन् ।

पर्यटकको उकालो ग्राफ ओरालो लाग्ने डर

पछिल्ला केही वर्षयता नेपालले हरेक वर्ष १० लाख पर्यटक नेपाल भित्र्याउने योजना बनाउँथ्यो, तर सफल हुन सकेको थिएन । तर गएको वर्ष अर्थात सन् २०१७ मा नेपालमा अहिलेसम्मकै धेरै १० लाख पर्यटक आएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । गएको वर्ष नेपाल भ्रमण गर्नेमा सबैभन्दा धेरै १ लाख ६० हजार भारतीय रहेका थिए भने १ लाख ४ हजार चिनियाँ पर्यटक रहेका थिए । त्यस्तै, ७९ हजार अमेरिकी, ५१ हजार बेलायती  र ४५ हजार श्रीलंकालीले गएको वर्ष नेपाल भ्रमण गरेका छन् ।

गएको वर्षको तथ्याङ्कबाट हौसिएर सरकारले यो वर्ष १२ लाख पर्यटकले नेपाल भ्रमण गर्ने जनाएको छ । यसपटक अफ सिजन मानिएका महिनामा पनि पर्यटकको संख्या उल्लेख्य बढ्नुले सरकारको लक्ष्य पूरा हुने पनि देखिन्छ । गएको पुसदेखि असारसम्म ५ लाख २५ हजार पर्यटक नेपाल आइसकेको पर्यटन बोर्डले जनाएको छ ।

तर पर्यटकको नक्कली उद्धार प्रकरणले नेपाल आउने पर्यटकको संख्या घट्ने चिन्ता पनि उत्तिकै छ । किनकी गएको वर्ष नेपाल घुम्न आउने पर्यटकमध्ये टे«किङकै लागि आउने पर्यटकको संख्या १३ प्रतिशतले बढेको छ । नेपालको ट्रेकिङबारे नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नकारात्मक खबर आउन थालेपछि यो संख्या घट्ने चिन्ता थपिएको छ ।

सरोकारवाला के भन्छन् ?

पर्यटकको नक्कली उद्धार प्रकरण सार्वजनिक भएपछि सरोकारवाला निकायका प्रतिनिधि चिन्तित भएका छन् । सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । यसबारे केही सरोकारवाला निकायका प्रतिनिधिको भनाई जस्ताको तस्तै :

यो घटनाले एकदमै गम्भीर बनाएको छ  : पर्यटन बोर्डका सिइओ दीपकराज जोशी

यो घटनाले हामीलाई एकदमै गम्भीर बनाएको छ । यसले हामीलाई पर्यटकको संख्या घट्ने हो कि भनेर सोच्न बाध्य पनि बनाएको छ । पोहोरसालदेखि नै हामीलाई केही साथीहरुले नेपालमा गलत अभ्यास बढिरहेको र ट्राभलको विमा बढेको गुनासो गर्दै आउनुभएको थियो । 

अहिले सही समयमा हस्तक्षेप भएको छ । यसमा दोषी देखिएका कम्पनीहरुलाई कारबाही भयो भने गलत छवि सुधार हुन्छ भन्ने हाम्रो आशा हो । गलत अभ्यास भएको देख्ने अन्तर्राष्ट्रिय मिडियाले कारबाही भएको पनि सूचना त सम्प्रेषण गर्लान् नि ।

घटना धेरै नउचालौं, दोषीलाई कारबाही गरौं : नवराज दाहाल, अध्यक्ष टान

यहाँ केही ट्रेकिङ व्यवसायीको गल्तीलाई लिएर समग्र नेपाली ट्रेकिङ व्यवसाय नै गलत हो भन्ने जसरी प्रचार भैरहेको छ । सरकारले पनि गुपचुप अध्ययन गर्नुपर्नेमा हल्लाखल्ला गरेको छ । अहिले दोषी देखिएका कम्पनीको नाम सार्वजनिक गर्ने हो भने उनीहरुको विजनेश नै डुब्छ । त्यसैले अब दोषीलाई कारबाही गरौं  ।

नक्कली उद्धारमा दोषी देखिएकालाई कारबाही गर्दा हाम्रो धुमिल्लिएको छविमा सुधार आउँछ । म फेरि पनि भन्दैछु, सरकारले प्रतिवेदनलाई गुपचुप राख्नुपर्छ, घटनलाई धेरै उचाल्यो भने घाटा हामीलाई नै हुने हो ।

दोषीलाई कारबाही नहुने त कुरै छैन : घनश्याम उपाध्याय, प्रवक्ता पर्यटन मन्त्रालय

उद्धारको नाममा भएका यस्ता क्रियाकलापलले पक्कै पनि नराम्रो सन्देश गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालमा हुने उद्धारसम्बन्धी कमी कमजोरी आइरहेका छन् । यसले गर्दा नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पर्छ भनेर नै हामीले छानविन समिति बनाएका हौं । 

समितिले को को दोषी हो भन्ने कुरा पनि पत्ता लगाइसकेको छ । दोषीलाई कडा कारबाही हुन्छ । यसको लागि मन्त्रीले सचिवलाई निर्देशन दिइसक्नुभएको छ । दोषीलाई कारबाही ग¥यौं र गम्भीर भयौं भने त हामी पर्यटक घट्लान भनेर डराउनुपर्ने अवस्था नै छैन ।

अन्तिम अपडेट: चैत १६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया