रुकुम पश्चिम : बेपत्ता भएका भनिएका १ जना घरमै भेटिए, वडाध्यक्षसहित ४ जना प्रक्राउ

 जेठ ११, २०७७ आइतबार २१:६:४९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – अन्तरजातीय प्रेम सम्बन्धको कारण मारिएका भनिएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको मृत्युको कारण शङ्कास्पद रहेको बेला प्रहरीले रुकुम पश्चिमका वडा अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित चार जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मसिंह विष्टका अनुसार युवककी प्रेमिका भनिएकी रुपा मल्ल (नाम परिवर्तन), वीरबहादुर मल्ल (केटीका बुवा) र प्रकाशी मल्ल (केटीकी आमा) सहित चार जनालाई नियन्त्रणमा लिइएको छ । 

घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक विष्टले अहिले चार जनाको बयान चलिरहेको र अन्यलाई समेत ल्याउने काम भइरहेकाे जनाउनुभयो । 

प्रहरीका अनुसार आफूसँग प्रेम सम्बन्ध रहेकी भनिएकी १७ वर्षीया रुपा (नाम परिवर्तन) लाई भगाएर ल्याउन भन्दै नवराज १९ जना साथीहरु लिएर शनिबार बेलुका पाँच बजेतिर रुपाको घर पुगेका थिए । 

बेलाबेला आउजाउ गरिरहने नवराज र रुपाबीचकाे प्रेम सम्बन्ध केटी पक्षलाई चित्त बुझेको थिएन । यसअघि पनि घरमा आएको बेला केटी पक्षले नवराजलाई प्रहरीसमक्ष उभ्याएका थिए । 

शनिबार बेलुका केटीको घरमा एक्कासी केटाहरु आएको बेला रुपाकी आमा थिइन् । उनले किन यति धेरै केटा लिएर आएको ? भन्दै हारगुहार गरेर गाउँलेहरु बोलाइन् । गाँउलेहरु धेरै सङ्ख्यामा आएपछि जाजरकोटबाट आएका केटाहरु भागेको र गाउँलेहरुले लखेटेको प्रहरीले बताएको छ । 

जाजरकोटबाट आएकामध्ये १२ जनालाई पक्राउ गरिएको बताउँदै प्रहरी निरीक्षक विष्टले भन्नुभयो, ‘गाउँलेहरुले लखेटेपछि भागाभग भयो । चारैतिरबाट गाउँलेहरुले घेरेका थिए । धेरै जनाले बाँच्ने आशाले नजिकैको भेरीमा हाम फाले । को कता थिए, यकिन भएन । १२ जना पक्राउ परे । नवराजको लामाबगर भन्ने ठाउँमा भेरीकै छेउमा शव भेटियो ।' 

गाउँलेहरुको आक्रमण गरेपछि भागेकामध्ये १२ जनालाई चौरजहारीबाट प्रहरीले पक्राउ गरेको छ । एक जनाको ज्यान गएको छ र अझै पाँच जना बेपत्ता रहेका छन् । यसअघि बेपत्ता भनिएका चौरजहारी नगरपालिका का २० वर्षीय गोपाल बुढाथोकी घरमै भेटिएका छन् ।

बुढाथोकीले आफू नुहाउन भेरी नदी गएको बेला जाजरकोटबाट आएका साथीहरुले केटी भगाउन जाउँ भन्दै भनेकाे तर आफू बाटैबाट फर्किएको जनाएको प्रहरीले जानकारी दिएकाे छ । जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका १ का टीकाराम सुनार सम्पर्कविहीन छन् ।

नवराजसहितको युवा समूहलाई 'तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको' भन्दै आक्रमण गरी लखेटेको प्रहरीले बताएको छ । केटी पक्षले केटीको उमेर नपुगेको र केटीले बिहेको लागि अस्वीकार गरे पनि जर्बजस्ती लान खोज्दा विवाद भएको दाबी गरेको छ । गाउँमा विवादको अवस्था आएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेको बुझिएको छ । 

पक्राउ परेका १२ जनामध्ये भेरी नगरपालिका  ४ का सुदीप खड्का घाइते भएको प्रहरीले जनाएको छ । अहिले सुदीपको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, टाउको र ढाडमा चोट लागेको छ । अहिले उनको अवस्था समान्य रहेको अस्पताल प्रशासक डिलबहादुर गिरीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया