वैदेशिक व्यापार डेढ खर्बले घट्यो, व्यापार घाटामा १४ प्रतिशतले कमी

 जेठ ११, २०७७ आइतबार १९:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसकाे कारण नेपालको वैदेशिक व्यापारमा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कले वैदेशिक व्यापारमा डेढ खर्ब रुपैयाँले कमी आएको देखाएको छ ।

गएको आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोड रुपैयाँको वैदेशिक व्यापार भएकोमा यो वर्षको साउनदेखि वैशाखसम्म ११ खर्ब सात अर्ब २० करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा एक खर्ब ४९ अर्ब ४७ करोड अर्थात् झण्डै १२ प्रतिशतले कमी हो ।

यस्तै नेपालको वैदेशिक व्यापार घाटा पनि १४ प्रतिशतभन्दा धेरैले घटेको छ । गएको आर्थिक वर्षको पहिलो १० महिनामा १० खर्ब नाै अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा यो आर्थिक वर्षको पहिलो १० महिनामा नाै खर्ब ४३ अर्ब रुपैयाँको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ ।

आयात बढ्दै, निर्यात घट्दै

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालको निर्यात व्यापार २७ दशलमवल ७ प्रतिशतले बढेको थियो, आयात ११ दशमलव ५ प्रतिशतले घटेको थियो । निर्यात बढ्ने क्रम ६ महिनासम्म पनि २७ प्रतिशतकै हाराहारीमा थियो । तर आयातको दर घट्ने क्रममा ब्रेक लाग्दै थियो । पुससम्म आयातमा ४ दशमलव २४ प्रतिशतले कमी आएको थियो ।

लकडाउनपछि निर्यात कम भयो, आयात बढ्यो । तर १० महिनासम्म आइपुग्दा निर्यात जम्मा साढे ४ प्रतिशतले मात्रै बढेर ८२ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । आयात पनि १२ दशमलव ९९ प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष १० महिनाको आयात ११ खर्ब ७८ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया