पूर्ण शुल्क र पूर्वतयारीसहित होटललाई क्वरेण्टीन बनाउन व्यवसायी सहमत

 जेठ १२, २०७७ सोमबार १४:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – होटल सङ्घ नेपाल (हान) ले होटलहरुको पूर्ण शुल्क र कोरोना रोकथामको मापदण्ड कायम गरेर होटललाई क्वरेण्टीन बनाउन सकिने जनाएको छ ।

होटलहरुलाई आवश्यता अनुसार क्वरेण्टीनकाे रुपमा प्रयोग गर्नेबारे होटल सङ्घ नेपालको प्रतिनिधिमण्डलले बनाएको विस्तृत विवरणमा होटललाई पनि क्वररेण्टीन बनाउन सकिने तर पूर्ण शुल्क र रोकथामको लागि मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ । विदेशमा अलपत्र रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गराउने क्रममा सरकारले होटलहरुलाई क्वरेण्टीनकाे रुपमा उपयोग गर्ने निर्णय गरेमा होटल सङ्घसँग आबद्ध सदस्य होटलहरुबाट आवश्यक सहयोग जुटाउन राज्यसँगको समन्वयमा पहल गर्ने हानले जनाएको छ ।

स्वाथ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर कोरोना सङ्क्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकता अनुसार क्वरेण्टीनकाे व्यवस्था गर्न सक्नेबारेमा पनि विवरणपत्रमा बताइएकाे छ ।

हानले क्वरेण्टीनकाे रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेक इन पूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य जाँच गरी सङ्क्रमण नभएको यकिन हुने प्रमाण हुनुपर्ने शर्त राखेको छ । यस्तै प्रत्येक दिन पटक–पटक स्वास्थ्य जाँच, अन्तर्राष्ट्रियस्तरका मापदण्डहरुको कुनै क्षति नहुने, कामदार–कर्मचारी तथा छिमेक तथा स्थानीय समुदायमा सङ्क्रमण हुनबाट बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने पनि विवरणपत्रमा स्पष्ट उल्लेख गरिएको छ ।

क्वरेण्टीन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवर्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवा सुविधा, सञ्चार, पानी, बिजुलीलगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु नेपाल सरकारको वर्गीकरण अनुसार पर्यटकस्तरीयदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षक अनुसार न्यूनतम आधारको रुपमा सबै सदस्य होटलहरुको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको पनि विवरणपत्रमा उल्लेख गरिएको छ ।

यस्तै क्वरेण्टीनकाे रुपमा सञ्चालन गर्न सकिने होटल प्रतिष्ठानहरुमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्थालगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए/नभएको पनि अद्यावधिक हुनुपर्ने होटल सङ्घ नेपालको विवरणपत्रमा उल्लेख छ । यसरी होटललाई क्वरेण्टीनकाे रुपमा उपयोग गरी सञ्चालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल सङ्घ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने आवश्यकतामाथि पनि सङ्घले जोड दिएको छ ।

होटल सङ्घ नेपालले होटल सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानुनी रुपमा नै बन्द गर्ने निर्णय गरेको पनि उल्लेख गरेको छ । बजेटमार्फत होटल सङ्घ नेपालले मूलरुपमा रोजगारी संरक्षण कोषको स्थापना, बैंकको ऋण तिर्ने म्याद पुनर्संरचना गरी तीन वर्षपछि सार्ने, ब्याजदर घटाउने, घरभाडालगायतका खर्च धान्न सस्तो ब्याजदरमा सञ्चालन ऋणका साथै बजेटमार्फत २०३० सम्म पर्यटन सुदृढीकरण दशक घोषणा गरी उपयुक्त पूर्वाधार र विकासका कार्यक्रम सञ्चालन हुनुपर्ने पनि हानले जोडदार माग गरेको छ ।

पर्यटन बिदाका कार्यक्रम घोषणा गरेर बजेटले आन्तरिक पर्यटनको उपयुक्त विकासमा जोड दिनसक्ने पनि सङ्घले जनाएको छ । होटल सङ्घ नेपालको देशैभरि छरिएका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय सङ्घहरु अन्तर्गत तीन हजार पाँच सय होटलहरु सदस्य रहेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया