लकडाउनमा अझ सशक्त रुपमा सरकारलाई खबरदारी गर्न सञ्चारकर्मीलाई देउवाको आग्रह

 जेठ १३, २०७७ मंगलबार ११:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले खबरदारी गर्ने भूमिका अझै सशक्त बनाउन सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा भिडियो सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले लकडाउनमा अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार बढ्दै जाने खतरा देखिएकाले सञ्चारमाध्यमले खबरदारीको भूमिका अझै बढाउन पर्ने बताउनुभयो ।

देउवालले यस्तो बेलामा निडर भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले भ्रष्टाचारका विवरण सार्वजनिक गर्ने सञ्चारमाध्यमलाई धन्यवाद दिएर दोषीलाई कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीले सञ्चारमाध्यम र सामाजिक सञ्जालले अस्थिरता फैलाएको आरोप लगाएकोप्रति आपत्ति जनाउनुभयो । काङ्ग्रेस सभापतिले प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति नदोहोर्याउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । 

सभापति देउवाले कोरोनाको जोखिमको कारण कयौँ श्रमजीवी पत्रकार बेरोजगार भएका, आम्दानी घट्दा केही सञ्चारमाध्यम बन्द भएका र बाँकी सङ्कटमा परेकाले पत्रकारिता क्षेत्रको चुनौती सामना गर्न राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो । देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन सरकार गम्भीर नभएको, जोखिममा रहेका पत्रकारको परीक्षण नगरिएकाले जोखिममा रहेको पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । 

लकडाउन भएको दुई महिना पूरा भएपनि अझै पर्याप्त परीक्षण नभएको, क्वरेण्टीनमा आवश्यक पूर्वाधार नरहेको, अत्यावश्यक राहतको उचित व्यवस्थापन नभएको र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कुनै योजना नबनाएकाबारे सञ्चारमाध्यमले अझै खरो ढङ्गले आवाज उठाउनुपर्ने सभापति देउवाको भनाइ छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया