अब प्रशिक्षकलाई पनि रातो र पहेँलो कार्ड  !

 साउन १६, २०७५ बुधबार १२:५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

खेलका दौरान खराब आचरण र अनुशासनहीन हर्कत गरेको अवस्थामा खेलाडीलाई रातो वा पहेँलो कार्ड दिइन्छ । यो कुरा नौलो होइन । तर अब सुरु हुन लागेको सिजनदेखि इंग्लिस क्लबका प्रशिक्षकले पनि त्यस्तो हर्कत गरेको पाइएमा पहेँलो वा रातो कार्ड दिइने निर्णय इंग्लिस फुटबल एसोसियसनले गरेको छ ।

इंग्लिस प्रिमियर लिगमा अनुशासन विपरित कार्य गरेमा प्रशिक्षक तथा व्यवस्थापकलाई मौखिक चेतावनी दिइनेछ । तर एफए कप, लिग कपलगायत अन्य प्रतियोगितामा भने प्रशिक्षकलाई पनि कार्ड देखाइनेछ ।

कार्डको संख्याका आधारमा उनीहरुलाई प्रतिबन्ध पनि लाग्न सक्नेछ । चार वटा पहेँलो कार्ड पाएपछि प्रशिक्षकले एक खेलको प्रतिबन्ध भोग्नु पर्नेछ । तर मैदानमा ठूलो झै–झगडा गरेको अवस्थामा उनीहरुलाई १६ खेल सम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

अहिले दुई पहेँलो कार्ड पाएमा खेलाडीले एक खेलको प्रतिबन्ध भोग्नु पर्नेछ । प्रतिबन्धित खेलको संख्या उनीहरुले देखाएको व्यवहारका आधारमा समेत निर्धारण हुँदै आएको छ ।

यसअघि प्रशिक्षकले म्याच अफिसियललाई चेतावनी समेत दिँदै आएका थिए । तर अब म्याच अफिसियललाई अनुचित शब्द वा हाउभाउ देखाएमा, पानीको बोटललाई किक हानेमा वा मैदानमा फालेमा पनि उनीहरुले कार्ड पाउन सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया