भक्तपुर अस्पतालमा पीसीआर ल्याब सञ्चालन गर्न माग

 जेठ १४, २०७७ बुधबार १५:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - कोरोना परीक्षण गराउनेको सख्या बढेपछि भक्तपुर अस्पतालमा पीसीआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालहरुले माग गरेका छन् । 

भक्तपुरका अधिकांश अस्पतालको सेवा सुस्त भएको अहिलेको समयमा नियमित सेवा सञ्चालन गरेको भक्तपुर अस्पतालमा कोरोना भाइरसको परीक्षण गrराउनेको संख्या बढ्दै गएकाले पीसीआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालहरुले माग गरेका हुन् ।  

भक्तपुर अस्पताललाई सरकारले जिल्लाको कोभिड अस्पतालको रुपमा घोषणा गरेपनि पीसीआर ल्याब नहुँदा यहाँ संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइँदै आएको छ । 

पछिल्लो समयमा टेकुको ल्याबमा कोभिड-१९ को परीक्षण गर्नेको भीड र अन्य जिल्लाबाट आउने स्वाब बढेपछि परीक्षणमा पठाएको एकहप्तामा मात्रै रिपोर्ट आउँदा झन जोखिम भएको जिल्लाका सरकारी अस्पतालको भनाई छ । 

भक्तपुर अस्पतालमा पीसीआर ल्याब नहुँदा सँगै रहेको मिर्गौलाको उपचार एवं प्रत्यारोपण गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सरको उपचार हुने भक्तपुर क्यान्सर अस्पताल नियमित संचालन भइरहेकाले यहाँ आएका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीको कोरोना भाइरस परीक्षण गर्नसमेत समस्या भएको छ ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. प्रेमराज ज्ञवालीले केन्द्रमा नियमित मिर्गौलाका बिरामीको डायलसिस गरिरहेको बताउँदै शंकास्पद बिरामीमा कोरोना सङ्क्रमण भए नभएको परीक्षण गर्न पीसीआर ल्याब सञ्चालन अत्यावश्यक रहेको बताउनुभयो । 

‘लकडाउनपछि पनि यसकेन्द्रमा मिर्गौलाका बिरामीको नियमित डायलसिस लगायतका सेवा सञ्चालन गरिरहेका छौ’, केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. ज्ञवालीले भन्नुभयो, ‘शंकास्पद बिरामीको तत्काल पीसीआर परीक्षण गर्नुपर्ने अवस्था आए समस्या छ, त्यसैले भक्तपुरमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब अत्यावश्यक छ ।’

केन्द्रमा आउने सबै बिरामीको पीसीआर परीक्षण आवश्यक नभए पनि शंकास्पद बिरामी पीसीआर परीक्षण गर्नुपर्दा टेकुमै पठाइने र नतिजा आउन हप्ता दिन कुर्नुपर्ने अवस्था आएकाले जिल्लामै ल्याब आवश्यक रहेको उहाँको भनाइ छ । 

भक्तपुर अस्पतालमा ल्याब सञ्चालन गर्नुपर्नेबारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग पनि छलफल चलाएको उहाँले जानकारी दिनुभयो । 

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालमा अहिलेसम्म ७ सय ८६ जनाको आरडीटी र ६ सय २७ जनाको पीसीआर गरी कुल एक हजार ४ सय १३ जनाको कोरोना परीक्षण गरेको जानकारी दिनु्भयो । जसमध्ये ८१ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।  

विदेशबाट फर्किएका र पछिल्लो समयमा भक्तपुरमा देखिएका सङ्क्रमणका कारण स्थानीय बासिन्दा, कोठा भाडामा बस्ने र टेकुको ल्याबमा भिड भयो भन्दै काठमाण्डौबाट समेत स्वाब संकलनका लागि भक्तपुर अस्पताल आउने क्रम बढ्दै छ । 

अस्पतालमा यही १० गतेबाट आरडीटी किट सकिएपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन मात्रै गरिँदै आएको छ । सुपरिन्टेण्डेन्ट डा. गौतमले भन्नुभयो, ‘भक्तपुर अस्पतालमा पीसीआर ल्याब सञ्चालनका लागि वाग्मती प्रदेश सरकारसँग प्रस्ताव राखेका छौँ । प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालका लागि पनि अत्यावश्यक रहेको छ ।’

कोरोनाको बिरामीको मात्रै उपचार गर्नेगरी छुट्टै ब्लकको निर्माण भइसकेको, जनशक्ति तयारी अवस्थामा रहेको बताउदै उहाँले अस्पताल मै पीसीआर सञ्चालनमा ल्याउन सके धेरैलाई सहज हुने र राष्ट्रिय प्रयोगशालामा पनि भीड कम हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया