‘मेयरको गाडी खोलामा हाल्नुपर्छ भन्दै कांग्रेस कार्यकर्ताले ममाथि हातपात गरे’

 साउन १६, २०७५ बुधबार १४:११:२१ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले असुरक्षित भएको भन्दै सुरक्षा माग्नु भएको छ । 

काठमाडौबाट नगरपालिकाको कार्यालय जाँदै गर्दा अरनिको राजमार्ग अन्तर्गत जुरे नजिकै मंगलबार (हिजो) नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि मेयर शेर्पाले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई जानकारी गराउनुभएको बताइएको छ ।

बा १४च १४०८ नम्बरको गाडीमा सवार आफूमाथि आक्रमणको प्रयास गरेको मेयरको दावी छ । उँहाले नेपाली कांग्रेसका कार्यकर्ताहरुद्वारा अनावश्यक आफूलाई हातपात गर्न खोजेको बताउनुभएको छ ।

‘काठमाडौंबाट बाह्रबिसे नगरपालिका जाँदै थिएँ, जुरे पहिरोमा  गाडी फसेर करिब एक घण्टा जति गाडीहरु जाम भएको थियो । त्यसैबेला बाह्रबिसेबाट आएका कांग्रेस समर्थक कार्यकर्ताले यो बाटो किन बन्द भयो भन्दै एक्कासि  मसँग विवाद गर्न थाले । मैले यो प्राकृतिक कारण हो, बाटो अवरुद्ध भएको छ, डोजर आउँछ अनि सडक खुल्छ भन्दा मेयर भएपछि तुरुन्त गर्नुपर्‍यो भन्दै गाडी बोकेर बाटो खोल्नुपर्छ भनेर झगडा गर्न थाले ।’ 

आफूमाथि कांग्रेस कार्यकर्ताले अभद्र व्यवहार गरेको बताउँदै मेयर शेर्पाले भन्नुभयो, ‘बसमा यात्रा गरेर जाममा परेका यात्रीहरुले अनावश्यक प्रमुखलाई बाटोमा गाली बेइज्जत गर्न पाइँदैन भन्दै गर्दा बालकृष्ण बस्नेतको नेतृत्वमा रहेको कांग्रेसका कार्यकर्ताहरुले प्रमुखको गाडीलाई खोलामा हाल्नुपर्छ ममाथि प्रहार गर्न लाग्दा यात्रीहरुले प्रतिकार गरेका थिए ।’ 

चौतारामा कार्यक्रम भएकाले कार्यक्रममा गएर आएपछि देखाइदिन्छौं भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरु हिँडेको मेयर शेर्पाले बताउनुभयो ।

नगरप्रमुखले आफूविरुद्ध बोल्नलाई राम्रो हुँदैन भनेर धम्क्याएपछि कांग्रेस कार्यकर्तासँग सामान्य विवाद मात्रै भएको कांग्रेसका  हेमन्त श्रेष्ठले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया