धर्नामा बसेका दललाई नगरपालिकाले वार्तामा बोलायो

 साउन १६, २०७५ बुधबार १४:१३:० | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – सिरहाको गोलबजार नगरपालिकाले दोस्रो नगरसभाले गरेका कर सम्बन्धी दर रेटको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा बसेका स्थानीय राजनीतिक दललाई नगरपालिकाले वार्ताको लागि आह्वान गरेको छ ।

स्थानीय सात राजनीतिक दलको नेतृत्व गर्दै नेपाली कांग्रेससहितका दलले आन्दोलन गरेपछि नगरपालिकाले मंगलबार साँझ पत्रकार सम्मेलनमार्फत सबै राजनीतिक दललाई वार्तामा आउन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा आन्दोलनरत दलसँग मध्यस्थताका लागि तीन जना मध्यस्थकर्तासहित नगर प्रमुख देवनाथ साहको अध्यक्षतामा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिइएको छ ।

वार्ता समितिमा वडाध्यक्षहरु धनप्रसाद लामा, राजदेव यादव, रामपुकार कामती र रामदेव यादव रहेको नगर प्रवक्ता उमेश बरालले जानकारी दिनुभयो । प्रवक्ता बरालका अनुसार नेपाली कांग्रेससहित सात राजनीतिक दलको नाममा पछिल्लो तीन दिनदेखि भएको आन्दोलनको कारणले नगरपालिकाको दैनिक काम प्रभावित हुन नदिन हदैसम्म लचिलो बन्दै साउन १ गतेदेखि लागू गरिएको सम्पत्ति र सेवा शुल्क दस्तुर अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ ।

‘नगरको विकास र समृद्धिका लागि सबैसँग सहकार्यका लागि नगरले गरेको निर्णय तत्कालका लागि स्थगित गरेका हौं’, पत्रकार सम्मेलनमा नगर प्रमुख साहले भन्नुभयो, ‘वार्ताका माध्यमबाट माग सम्बोधन गर्न वार्तासमिति गठनसहित पत्राचार पनि गरेका छौं, तर वार्तामा आउन आनाकानी गरिरहेको जानकारी पाएका छौं ।’

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपालससहित सात दलले साउन ९ गते नगरपालिकामा १३ बुँदे मागपत्र पेश गरेका थिए । मागपत्रमा आर्थिक वर्ष २०७४/०७५ वडा तथा नगर स्तरीय योजना, स्टिमेट, उपभोक्ता समितिको विवरण, नगर क्षेत्रका नयाँ तथा पुराना सडकको मापदण्ड, दोस्रो नगरसभाबाट पारित गरिएका नीति, कार्यक्रम तथा योजना, न्यायिक समितिमा परेका उजुरीको विवरण, नगरको आन्तरिक श्रोतबाट तलब सुविधा खाने गरी भर्ना भएका कर्मचारीको विवरण लगायतको माग गरिएको छ । 

०७१ मंसिर १६ गते घोषणा भएको गोलबजार नगरपालिकामा पछिल्लो स्थानीय तहको चुनावमा नगर प्रमुख, उप–प्रमुखसहित नौ वडाध्यक्ष नेकपा (माओवादी केन्द्र), दुई नेकपा एमाले, एक÷ एक कांग्रेस र फोरमले जितेको थियो ।

केन्द्रीय तहमा माओवादी केन्द्र र एमालेको पार्टी एकीकरणपछि नगर कार्यपालिकामा दुई तिहाईभन्दा बढी बहुमत हुँदाहुँदै नगर कार्यपालिकाले हरेक निर्णय स्थानीय राजनीतिक दलहरुको राय सुझावको आधारमा गरिरहेको नगर प्रमुख साहले उल्लेख गनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया