युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

 साउन १६, २०७५ बुधबार १५:५५:२० | रासस
unn.prixa.net

काठमाडौं – राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ । 

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताउनुभयो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो । 

उहाँले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराउनुभयो । अहिले ऐनमा युवाको उमेर १६–४० वर्ष रहेको छ । नयाँ उमेर संशोधनका लागि युवा तथा खेलकूद मन्त्रालयमा मस्यौदा पेश गरिएको छ ।

‘१६ र ४० वर्षको युवालाई एकै ठाउँमा राखेर प्रतिस्पर्धा गर्न सक्दैनन्’, उहाँले भन्नुभयो, ‘त्यसैले उनीहरुको प्रतिस्पर्धा एकै समूहमा बनाउनका लागि उमेर घटाइएको हो ।’ 

संयुक्त राष्ट्र संघको मापदण्डअनुसार युवाको उमेर १५–२५ वर्ष रहेको छ । अधिकांश देशले १६–३५ को वर्षलाई युवाको उमेर मानेका छन् । यसैगरी परिषद्को ऐनमा जिल्ला युवा विकास समितिलाई खारेज गरिएको छ । 

संघीय संरचनाअनुसार केन्द्रमा राष्ट्रिय युवा परिषद्, प्रदेशमा प्रदेश युवा परिषद्, हरेक स्थानीय तहमा गाउँ÷नगर युवा विकास परिषद् बनाउने ऐनमा प्रस्ताव गरिएको परिषद्का उपसचिव धु्रवराज पौडेलले जानकारी दिनुभयो । 

उहाँले खारेज गरिएको जिल्ला युवा समितिलाई एक वर्षभित्र हटाइने बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिल्ला युवा परिषद्लाई खारेज गर्दै जिल्ला समन्वय समितिमा राख्ने निर्णय गरेको थियो । अहिले ७७ जिल्लामा जिल्ला युवा विकास समिति रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया