२० अर्बभन्दा बढी लगानी रहेका सुदूरपश्चिमका होटल संकटमा, ४५ हजार जनाको रोजगारी गुम्यो

 जेठ १७, २०७७ शनिबार १०:२९:५६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसाय संकटमा परेका छन् । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण होटल व्यवसाय बन्द हुँदा २० अर्ब लगानी भएका होटलहरु धरासायी हुँदै गएका हुन् । 

दुई महिनाभन्दा लामो समयदेखिको लकडाउनका कारण सबैभन्दा बढी मार होटल व्यवसायमा परेको होटल व्यवसायी संघ कैलालीले जनाएको छ । लकडाउनका कारण होटल व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् भने प्रदेशका विभिन्न होटेलहरुमा रोजगारी पाएका ४५ हजार मानिसको रोजगारी समेत गुमेको छ ।

होटेल व्यवसायी संघले कैलालीमा मात्रै करिब १० अर्बको लगानी सहित खुलेका साना ठूला गरी २५ सय होटल तथा रेष्टुरेन्टहरु लकडाउन कारण दैनिक दुई करोड ८० लाखे घाटा ब्यहोर्दै आएका छन । 

दुई महिनाभन्दा बढी समयदेखि होटेल बन्द गर्नुपर्दा जीविकोपार्जन गर्न र कर्मचारी तथा मजदूरको परिश्रमिक दिन, घरभाडा र ऋणको ब्याज तथा किस्ता तिर्न नसक्ने गरी व्यवसायीहरु धरासायी बन्दै गएको संघका अध्यक्ष कलमबहादुर बमले बताउनुभयो ।

लकडाउन भएदेखि हालसम्म कैलालीमा होटल व्यवसाय क्षेत्रमा करिब २ अर्ब रुपैयाँ बराबरको घाटा भएको छ । कैलालीमा सबै होटलहरुमा १६ हजार मानिसले प्रत्यक्ष रोजगारी गरिरहेको अवस्थामा होटेल बन्द हुँदा अधिकांश मजदूरहरुले पारिश्रमिक पाउन सकेको छैनन् ।
 
सुदूरपश्चिम प्रदेशमा करिब २० अर्ब लगानी भएको, ७ हजार भन्दा बढी होटलहरु खुलेको र त्यसमा ४५ हजार जनाले रोजगारी पाएको होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको तथ्यांक छ । ती होटलहरुमा दैनिक ७ अर्ब बराबरको कारोबार हुँदै आएकोमा लकडाउनपछि होटलहरु दैनिक रुपमा घाटा ब्यहोर्दै आएका छन् । 

अझै केही समय यस्तै अवस्था रहिरहेमा होटल व्यवसाय नै टाट पल्टिने अवस्था आउने निश्चित रहेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमले बताउनुभयो । 

अधिकांश होटलहरु ऋण र घर भाडा लिएर सञ्चालन गरिएकाले व्यवसायीहरु समस्यामा पर्न थालेका छन् । 

‘आफ्नो जायजेथा बन्धक राखेर लगानी बढाएका तथा नयाँ व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुको लगानी वालुवामा पानीजस्तो भएको छ । अब यो महामारी कहिले नियन्त्रण हुन्छ ? कहिलेबाट बजार खुल्ला भएर आर्थिक कारोबार सामान्य अवस्थामा फर्किन्छ भन्ने कुनै निश्चित छैन,’ अध्यक्ष बमले भन्नुभयो, ‘बजार सामान्य अवस्थामा आए पनि होटल व्यवसाय पूर्ववत अवस्थामा फर्कन थप केही महिना लाग्ने निश्चित छ ।’

व्यवसायीहरुले लकडाउन अवधिबाट संक्रमण कालभरीको सबै प्रकारका कर छुटको व्यवस्था गरिदिन र मुल्य अभिवृद्धि करमा थप दस्तुर, ब्याज, जरिबाना नलाग्ने व्यवस्था गरिदिन र होटल व्यवसायमा काम गर्ने कर्मचारी तथा मजदू उचित व्यवस्थापन तथा राहतको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् । 

अन्तिम अपडेट: चैत ३, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया