एमसीसीबारे स्पष्ट पार्ने नेकपाको निर्णय

 जेठ १७, २०७७ शनिबार १३:३२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे स्पष्ट पार्ने निर्णय गरेको छ । 

शनिबार बसेको नेकपाको सचिवालय बैठकले बजेटमा उल्लेख भएको भनिएको एमसीसी संसदमै विचाराधीन विषय रहेकाले अर्थमन्त्री युवराज खतिवडाले नै यसबारे पछि स्पष्ट पार्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे जवाफ दिँदा उल्लेख भएअनुसार नै स्पष्ट गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

एमसीसीका विषयमा शनिबार ठोस निर्णय भने भएन । तर  थप छलफल गरी निर्णय गरिने सहमति भएको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले संसदमा एमसीसी विचाराधीन रहेकाले अनुमोदन भए कार्यान्वयन हुने र अनुमोदन नभए कार्यान्वयन नहुनेबारे अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नै स्पष्ट पार्ने बताउनुभयो । 

बिहीबार सार्वजनिक भएको बजेटमा एमसीसी घुसाइएको भन्दै नेकपाका केही सचिवालय सदस्यले नै विरोध गरेपछि सचिवालय बैठकमा छलफल भएको हो । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेको थियो ।

यसमा घुमाउरो पारामा एमसीसीलाई घुसाउन खोजिएको नेकपाका केही नेताको आरोप छ। एमसीसी अमेरिकाको सैन्य रणनीतिको अंग भएकोले नेपालको संविधान, परराष्ट्र नीति र भूराजनीति विपरित हुने भन्दै नेकपाकै केही नेताहरुले भने विरोध गर्दै आएका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया