सुदूरपश्चिममा भारतबाट फर्किएका दुई बालकको मृत्यु, एक जनाको कोरोना रिपोर्ट आउन बाँकी

 जेठ १८, २०७७ आइतबार १२:१०:४७ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा भारतबाट फर्किएका दुई जना बालकको मृत्यु भएको छ ।

डडेल्धुराको क्वरेन्टीन र बाजुराको आइसोलेसनमा बसेका दुई बालकको मृत्यु भएको हो । उनीहरुमध्ये बाजुराका बालकको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ भने डडेल्धुराका बालकको कोरोना जाँचका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।

बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा रहेका बालकको उपचारको क्रममा मृत्यु भएको हो । बुढीगंगा १ का दुई वर्षीय बालकको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

मृतक बालकको स्वाब संकलन गरेर पीसीआर रिपोर्टका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पीसीआर रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतकको शवलाई रिपोर्टपछि मात्र के गर्ने भन्ने निर्णय लिने अस्पतालले जनाएको छ ।

बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेसनमा रहेका बालकको अववस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा शुक्रबार संज राखिएको थियो ।  ती बालकमा पखाला, ज्वरो, श्वास प्रश्वासको समस्या रहेको चिकित्सकले बताएका छन् ।

८ दिन अघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएर बुढीगंगा नगरपालिकाको क्वारेनटाईनमा परिवार सहित बसेका बालक बिरामी भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा लगिएको थियो ।

बालकसँगै आइसोलेसनमा उनका आमा र बुवालाई समेत राखिएको छ । मृत्यु भएका बालक भारतबाट आउने क्रममा बाटोमा बिरामी भएको आफन्तले जनाएका छन् । स्वाब संकलन गरेर तीनै जनाको पीसीआर परीक्षणका लागि धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

यस्तै डडेल्धुरामा क्वरेन्टीनमा राखिएका नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय बालकको मृत्युु भएको हो । शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वरेन्टीनमा राखिएका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा बाबुसँगै उनी भारतको मुम्बइबाट डडेल्धुरा पुगेका थिए ।

‘उनीहरु राति आएका हुन् । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो’, डीएसपी न्यौपानेले भन्नुभयो, ‘हामी कहाँ फोन आयो । बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं, डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीश चन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भइसकेको पुष्टि गर्नुभयो ।’

मेसु विष्टका अनुसार बालक मलेरिया रोगबाट ग्रसित रहेको र यसअघि उनी मुम्बईको एउटा अस्पतालमा उपचाररत रहेको खुलेको छ । मृतक बालकको स्वाब संकलन गरेर आजै परीक्षणका लागि पठाइने छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया