सरकारले धरौटी बढाउँदा म्यानपावर व्यवसायी संघमा ‘भूइँचालो’

 साउन १६, २०७५ बुधबार १७:११:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले म्यानपावर कम्पनीको इजाजत धरौटी रकम ६ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायीहरुबीच विवाद भएको छ । 

बुधबार काठमाडौंमा समसामयिक विषयमा छलफल गर्न भन्दै आयोजना गरिएको भेलामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नै ६ करोड धरौटी लिने सरकारको प्रस्तावको पक्षमा उभिएको आरोप लगाउँदै व्यवसायीहरु आक्रोशित भएका हुन् । 

भेलामा अध्यक्ष रोहन गुरुङले बोल्दै गर्दा काँग्रेस पक्षधर व्यवसायीहरुले कार्यक्रममा गुरुङको राजीनामा माग गर्दै प्रर्दशन गरेका थिए । ६ करोड धरौती कम्पनी इजाजतका लागि दिनु व्यवसायी, सरकार र कामदार कसैको पनि हितमा नहुने दावी गर्दै अध्यक्ष गुरुङप्रति आक्रोश समेत व्यक्त गरिएको थियो । 

गुरुङ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट व्यवसायी हुनुहुन्छ । सरकारले म्यानपावर व्यवसायलाई ध्वस्त पार्ने गरी प्रस्ताव ल्याउँदा पनि व्यवसायीहरुसँग कुनै परामर्श नलिएर अध्यक्ष गुरुङले पदको चरम दुरुपयोग गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी सदस्य सिता देवकोटाले आरोप लगाउँदै गुरुङको राजीनामा दिन माग गर्नुभयो । अध्यक्ष गुरुङले व्यवसायीको हितमा काम गर्न नसकेको उहाँको आरोप थियो ।

म्यानपावरको उचित व्यवस्थापन गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीले इजाजतका लागि ६ करोड धरौटी बुझाउनुपर्ने व्यवस्थासहितको प्रस्ताव मन्त्रीपरिषदमा लगेको छ । सरकारको सो प्रस्तावको समर्थन गरेको भन्दै व्यवसायीहरुले अध्यक्ष गुरुङप्रति आक्रोश व्यक्त गरेका हुन । उनीहरुले सरकार म्यानपावर व्यवसायलाई पेल्दै अगाडि बढन लागि परेको आरोप लगाएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया