सडक सुरक्षाको लागि नयाँ प्रणाली अपनाइँदै, अब ट्राफिकका हात-हातमा ट्याब

 साउन १६, २०७५ बुधबार १८:५९:२४ | बेदानन्द जाेशी

काठमाडौं – कहाँ कतिबेला र कसरी सवारी दुर्घटना भयो भनेर थाहा पाउन नयाँ सुरक्षा प्रणाली अपनाइने भएको छ । ट्राफिक प्रहरीलाई  प्रविधियुक्त बनाएर दुर्घटनाको रेकर्ड राख्न नयाँ प्रणाली लागू हुने उपत्यका सहरी यातायात योजना प्रमुख पदम बहादूर शाहीले बताउनुभयो ।

विश्व वैंकको सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाले काठमाडौं उपत्यकाभित्रका ३५ वटा र काठमाडौंदेखि वीरगञ्जसम्म ३० वटा गरी जम्मा ६५ वटा ट्राफिक स्टेसनमा यो प्रणाली जोडेर सवारी दुर्घटनाको रेकर्ड राख्ने भएको छ । यससम्बन्धी सम्पूर्ण काम सकिसकेको र त्यसलाई प्रयोगमा ल्याउन एक महिना मात्र लाग्ने शाहले बताउनुभयो ।

नेपालभरि हुने कुल सडक दुर्घटनाको ७० प्रतिशत दुर्घटना यही रुटमा हुने भएकाले पहिला यहाँ लागू गरिन लागेकोे हो । यसको लागि ट्राफिकलाई ट्याबलेट उपलब्ध गराइने छ । दुर्घटना हुनेबित्तिकै घटनास्थलमा पुगेर ट्राफिकले दुर्घटनाको प्रवृत्ति र दुर्घटनास्थलको फोटो खिचेर नक्सासहित रेकर्ड राख्न मिल्नेछ । यसरी राखिएको रेकर्ड ट्राफिक स्टेसनमार्फत सर्भरमा पठाइने र चाहिएको बेला हेर्न मिल्ने छ । जसले गर्दा दर्घटनाबारे थप अनुसन्धान गर्न र सडक सुरक्षा व्यवस्थापन गर्न सजिलो हुने शाहले बताउनुभयो । 

सडक दुर्घटनाको कारण बुझेर कुन ठाउँमा कसरी दुर्घटना भयो भन्ने कुरा जानकारी थाहा पाउन यो प्रणाली प्रभावकारी हुनेछ । आजसम्म भएका दुर्घटनाहरु कुन मोडमा कसरी भए र के कारणले भए भन्ने यकिन डाटा राख्न नसक्दा सडक सुरक्षा प्रणाली कमजोर बनेको हो । 

अहिले दुर्घटना कम गर्नुपर्यो भनेर सरकारले बजेट दिए पनि त्यसलाई कहाँ प्रयोग गर्ने भन्ने नै थाहा छैन । अब यो प्रणालीसंगै दुर्घटनाको प्रकृति सहित सडकको अवस्था पनि रेकर्ड रहने भएकाले नयाँ कार्ययोजना निर्माणमा यो प्रभावकारी हुने शाहले बताउनुभयो ।
 
 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया