सांसद पालको मोबाइल बाटोबाटै खोसेर लगेपछि संसदीय सुनुवाइ समितिका सदस्यको सुरक्षाको माग

 साउन १६, २०७५ बुधबार १९:५०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले समितिका सदस्यहरुको सुरक्षाको उचित व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेको छ ।

समितिको बुधबार बसेको बैठकले समितिकी सदस्य निरुदेवी पालमाथि मंगलबार साँझ अज्ञात व्यक्तिले धम्कीसहित हातमा रहेको मोबाइल खोसेर लगेको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल सुरक्षाको उचित व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गर्ने निर्णय गरेको हो । 

मंगलबार साँझ दूध किन्न सडकमा निस्कनु भएकी सत्तारुढ दलकी सांसद पाललाई नचिनेको व्यक्तिले प्रधानन्यायाधीशमा अन्यथा गरे ज्यान लिने धम्की दिँदै मोबाइल खोसेर लगेको थियो । समितिको बैठकले त्यही घटनाको निन्दा गर्दै समितिका सदस्यहरुको आवश्यक सुरक्षाको व्यवस्था गर्न संघीय संसद सचिवालयको ध्यानाकर्षण गराएको हो ।

बैठकमा समितिकी सदस्य पालले घटनाबारे विस्तृत जानकारी गराउनु भएको थियो । उहाँले बुधबार सभामुख कृष्णबहादुर महरासँग भेट गरी घटनाबारे जानकारी गराउँदै आफ्नो सुरक्षाको व्यवस्था गर्न माग गर्नु भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया