कञ्चनपुरमा होम क्वरेन्टीनमा बस्न सकिने कार्यविधि पारित

 जेठ २२, २०७७ बिहिबार १३:५६:५३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - भारतबाट फर्किने नेपालीको चाप बढेसँगै कञ्चनपुरमा होम क्वरेन्टीनमा बस्ने सकिने कार्यविधि तयार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले दिनप्रतिदिन बढिरहेको चापका कारण क्वरेन्टीनको व्यवस्थापनमा समस्या भएकाले होम क्वरेन्टीनमा बस्न सकिने कार्यविधि पारित गरेको हो ।

नयाँ भित्रिनेहरुका लागि क्वरेन्टीनको व्यवस्था गर्न ठाउँको अभाव भएसँगै कतिपय क्वरेन्टीन अत्याधिक भीडका कारण अव्यवस्थित हुँदै गइरहेकाले त्यसको विकल्पका रुपमा होम क्वरेन्टीनको व्यवस्था गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो ।

उहाँले क्वरेन्टीनभन्दा घरमा सुरक्षित रहन सकिने अवस्थामा मात्रै होम क्वरेन्टीनमा बस्न सकिने व्यवस्था मिलाइएको र यसका लागि तोकिएका सर्तहरु पालना गर्नुपर्ने उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार होम क्वरेन्टीनमा बस्दा १२ वटा शर्त पालना गर्नुपर्ने छ । होम क्वरेन्टीनमा बस्न चाहने व्यक्तिले होल्डिङ सेन्टरमा बस्नुपर्ने र त्यहाँ रहँदा होम क्वरेन्टीनमा बस्न चाहे सम्बन्धित वडामा लिखित निवेदन दिनुपर्नेछ ।

निवेदनका आधारमा वडा अध्यक्षसहितको समितिले निवेदकको बासस्थान, सम्भाव्यता, जोखिम समेत मूल्यांकन गरी उपयुक्त देखिए होम क्वरेन्टीनमा बस्ने अनुमति दिनेछन् ।

होम क्वरेन्टीनको अवधि २१ दिनको हुनेछ, तर यसअघि क्वरेन्टीनमा बसेको भए त्यसलाई घटाएर होम क्वरेन्टीनमा बस्नुपर्नेछ । होम क्वरेन्टीनमा बस्दा सम्भव भएसम्म छुट्टै तला वा अलग्गै कोठामा राख्नुपर्नेछ । साथै, व्यक्ति आफैँले खाना पकाएर खाने, परिवारले प्रयोग गर्ने साझा भाँडावर्तन, लत्ताकपडा प्रयोग गर्न पाइने छैन । 

यसैगरी, स्वास्थ्यमा कुनै समस्या देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउनुपर्ने, मास्क, साबुन, सेनिटाइजर जस्ता सरसफाईका सम्पूर्ण मापदण्ड पुरा गर्नुपर्नेछ । साथै, होम क्वरेन्टीनमा बसेको व्यक्ति कम्पाण्ड बाहिर निस्किन पाउने छैन । 

होम क्वरेन्टीनमा बसेका व्यक्ति घर बाहिर निस्किए वा अनुशासन विपरीतका काम गरेको पाइएमा संक्रमण रोग ऐन, २०२० को दफा ३ ९१० बमोजिम कारबाही गरी एक महिना कैद सजाय हुने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया