विदेशबाट आउनेलाई टेलिकमले सित्तैमा सिम दिने, हाेल्डिङ सेन्टरकाे वाइफाई पनि निःशुल्क

 जेठ २२, २०७७ बिहिबार १८:४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले विदेशबाट उद्धार गरेर ल्याउने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिम कार्ड दिने भएको छ ।

नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) हरु तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वरेण्टीन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने छ । यस प्रयोजनका लागि कम्पनीले तत्काल एक लाख सिम कार्डको व्यवस्था गरिसकेको छ । यसरी सिम प्राप्त गर्नकाे लागि नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनुपर्नेछ ।

स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उनीहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ । कम्पनीले उपलब्ध गराउने सिम कार्डको माध्यमबाट प्रयोगकर्ताले आफन्तसँग सम्पर्क गर्न सहज हुनुका साथै नेपाल फर्किएपछि उनीरुको स्वास्थ्य अवस्था तथा सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुने टेलिकमको भनाइ छ ।

साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुकाे लागि नेपाल सरकारले काठमाण्डाै उपत्यकामा व्यवस्था गर्ने आठ वटा होल्डिङ सेन्टरमा निःशुल्क वाइफाई सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । कम्पनीकाे यी प्रयासहरुबाट ग्राहकलाई थप सुविधा पुग्नुकाे साथै समुदायमा कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको नेपाल टेलिकमले जनाएको छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया