कोभिड–१९ : उच्चस्तरीय समन्वय समितिले लियो विदेशबाट फर्किएकाको व्यवस्थापन तयारीबारे जानकारी

 जेठ २३, २०७७ शुक्रबार १३:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारले गरेको तयारीको सम्बन्धमा जानकारी लिएको छ ।

विदेशबाट आउँदै गरेका नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारहरुले गरेको तयारीको विषयमा समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले प्रदेश सरकारसँग समन्वय गर्न तोकिएका संघीय मन्त्रीहरुसँग जानकारी लिनुभएको छ ।

समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले आज (शुक्रबार) देखि विदेशबाट आउँदै गरेका नेपाली नागरिकहरुलाई काठमाण्डौमा होल्डिङ स्टेसनमा राख्ने देखि प्रदेश र स्थानीय तहसम्म पठाउने विषय र प्रदेशमा भएको तयारीको विषयमा जानकारी लिने काम भएको बताउनुभयो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार मन्त्रीहरुबीच कार्यान्वयनको विषयमा एकअर्कामा जानकारी दिने काम भएको उहाँले बताउनुभयो । उहाँले हवाई उडानबाट अवतरण भएपछि नेपाली सेना र सुरक्षा अधिकारीबाट व्यवस्था भएको बसबाट काठमाण्डौको होल्डिङ सेन्टरसम्म पु¥याउने र केही घण्टाको आराम पछि प्रदेशमा पठाइने बताउनुभयो ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने कार्य आजदेखि सुरु भइसकेको बताउनुभयो । उहाँले शुक्रबार पहिलो चरणमा म्यानबाटरबाट २६ जना नागरिक आइसकेको र दिउसो यूएईबाट समेत आउने बताउनुभयो ।

विदेशबाट उद्धार गरी नेपाल ल्याइएका नागरिकको व्यवस्थापनाको काम कोरेना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टेर (सीसीएमसी)को संयोजनामा हुने छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया