रोकिएको कोरोना बीमा फेरि सुुरु, चैतसम्म मात्रै मान्य

 जेठ २३, २०७७ शुक्रबार १८:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना बीमा फेरि सुरु भएको छ । बीमा समिति, बीमक सङ्घ र नेपाल पुनर्बीमा कम्पनीका पदाधिकारीबीच भएको छलफलले कोरोना बीमा फेरि सुरु गर्ने निर्णय गरको हो । योसँगै बिहीबार एकदिन रोकिएको कोरोना बीमा शुक्रबारदेखि फेरि सुरु भएको छ ।

अहिलेसम्म तीन लाख २५ हजार जनाले कोरोना बीमा गरेका छन् । ‘अहिलेसम्म तीन लाख २५ हजार जनाले बीमा गरेका छन्, जोखिम ३० अर्ब रुपैयाँभन्दा माथि गएकोले हामीले थेग्न सक्दैनौँ कि भनेर बन्द भएको थियो तर बीमा लेख बचाउनको लागि फेरि अघि बढाउने सहमति भएको छ । पुँजीसम्मको बीमा भइसकेकाेले आत्तिएका थियौँ तर रिभ्यु गर्‍याैँ र बीमा लेखलाई बचाउने सहमति गरेका छौँ’, बीमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाईँले भन्नुभयो ।

तर अबको कोरोना बीमा भने चैतसम्मको लागि मात्रै मान्य हुने भएको छ । यसअघि एक वर्षको लागि कोरोना बीमा हुने गरेको थियो । यस्तै बीमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले सरकारको साथ पाएकैले फेरि बीमा कार्यक्रम सुरु भएको जानकारी दिनुभयो ।

‘हाम्रो दायित्वबारे हामीले समीक्षा गर्‍याैँ, एक सय करोडसम्म हामी बीमा कम्पनीले बहन गर्छाैँ । एक सय करोड नेपाल पुनर्बीमा कम्पनीले बहन गर्छ, बाँकी रकम बीमा समिति र नेपाल सरकारले नै बेहोर्ने भएपछि फेरि सुरु गर्ने भएका हौँ’, बीमक सङ्घका अध्यक्ष पाण्डेले भन्नुभयो ।

नेपाल पुनर्बीमा कम्पनीका सीईओ शङ्करकुमार रायमाझीले पनि दायित्व लिने कुरामा सरकारको साथ पाएपछि कोरोना बीमालाई जारी राख्ने सहमति भएको जानकारी दिनुभयो । कोरोना बीमा अन्तर्गत अहिले ५० हजार रुपैयाँ र एक लाख रुपैयाँ गरी २ प्रकारको बीमा लेख खरिद गर्न पाइन्छ । २० वटा निर्जीवन बीमा कम्पनीले अहिले कोरोना बीमा गराइरहेका छन् ।  

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया