लम्बिँदो ‘लकडाउन’ : यातायात व्यवसायी र मजदुरको ‘लक डाउन’

 जेठ २४, २०७७ शनिबार ९:०:३० | मल्लिका थापा
unn.prixa.net

सिन्धुपाल्चोकका राम न्यौपानेले गाडी चलाउन थालेको २० वर्ष भयो । सुरुमा साहुको गाडी चलाएका उहाँले आफ्नै गाडी चलाउन थालेको ४ वर्ष हुँदै थियो । यस बीचमा गाडीमा कहिले यात्रु खचाखच हुन्थे त कहिले २÷४ जनामै चित्त बुझाउनु पर्दथ्यो । 

‘तर यसरी खाली भएको चाहिँ पहिलोपल्ट हो’ ७० दिनभन्दा बढी दिनदेखि ग्यारेजमा गाडी थन्काएर बसिरहेका न्यौपानेले लामो सुस्केरा हाल्दै भन्नुभयो, ‘लकडाउनको एक महिना त जसोतसो बित्यो, तर त्यसपछिका दिनमा भने ४ जना परिवारको लागि बिहान बेलुका मुश्किलले छाक टरिरहेको छ । गाडी किनेको ऋण तिर्ने पिरले ज्यान खाइरहेको छ ।’

लकडाउनका कारण अरु क्षेत्रका मजदुर र व्यवसायीले जस्तै यातायात क्षेत्रमा मजदुर र व्यवसायीले पनि आफूहरुको ‘लक नै डाउन भएको’ बताउने गरेका छन् ।
लकडाउनअघि काठमाण्डौ उपत्यकामा माईक्रो बस चलाउने सुशील श्रेष्ठ र सहचालक विकास लामा भन्नुहुन्छ, ‘कोरोनाको डर त भाँडोमा चामल अनि खल्तीमा पैसा हुनेलाई लाग्ने हो । हामी जस्तो दैनिक मजदुरी गरेर बिहान बेलुका हातमुख जोर्नेलाई न रोगको डर, न कसैको भर ।’ 

गाडी चलाउन नपाएपछि उहाँहरु अहिले ठेलामा तरकारी बोकेर घरदैलोमा पुर्याउने काम गर्नुहुन्छ । बिहान सबेरै पनि खलखल पसिना काढ्दै तरकारी बेच्न हिँडेका सुशील र विकासलाई आफ्नो पुरानो व्यवसाय धरापमा पर्यो भनेर निकै चिन्ता लाग्छ ।

वि.सं. २०७२ सालको भूकम्पमा श्रीमती गुमाएका  दोलखाका ट्याक्सी चालक विश्व नेपालको काँधमा  दुई छोरी हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी छ । तर अहिले छोरीहरुको लागि टार्नै समस्या भएको उहाँ बताउनुहुन्छ । गएको चैत महिनादेखि उहाँ बेरोजगार हुनुभयो । उहाँ भन्नुहुन्छ ‘एकपटक पाएको राहतले कति दिन खान पुग्यो र ? बरु कुनै काममा लगाईदिए हुने ।’

कोभिड–१९ का कारण गएको चैत महिनादेखि लकडाउन भएपछि गाडीको स्टेरिङ समातेर आफ्नो जिन्दगी चलाउने धेरै मजदुरको अवस्था यस्तै भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार देशभर यातायात क्षेत्रका १० लाखभन्दा धेरै मजदुर बेराजगार भएका छन् । लकडाउन जति  लम्बियो उति मजदुरका आम्दानीका श्रोत गुम्न थालेका छन् । अब लकडाउनपछि पनि यो व्यवसाय कसरी चल्ने र यो क्षेत्रमा कार्यरत श्रमिकको भविष्य के हुने भन्ने अन्यौल छ ।

व्यवसायीलाई ब्याज र किस्ता तिर्न समस्या 

काम गर्न नपाएपछि ऋणमा गाडी लिएका व्यवसायीलाई ब्याज र किस्ता तिर्न मुश्किल भएको छ । आफ्नै गाडी भएकामध्ये ९० प्रतिशत व्यवसायीले बैंकबाट कर्जा लिएका छन् । अहिले गाडी ठप्प भएपछि दैनिक मजदुरी गरेर खाने व्यवसायीहरुको रोजिरोटी नै गुमेको र दैनिक जीवन चलाउन नै समस्या परिरहेको बेला बैंकको किस्ता र ब्याज चलाउन नसक्ने अवस्था आएको छ ।

यातायात मजदुर खानै नपाउने अवस्थामा

लकडाउनपछि गाडी मात्र होइन, यातायात मजदुरकै कमाई पुरै ठप्प भएको छ । मासिक तलव कम भए पनि गाडी चलेको बेला टिप अनुसार भत्ता पाउने भएकाले कमाई रामै्र हुन्थ्यो । तर अहिले गाडी चलेको छैन, आम्दानी पनि छैन ।  कोठा भाडा तिर्न समस्या छ, रासनपानी भर्न सकिएको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले खानै समस्या भएका यातायात मजदुरलाई खानाको व्यवस्था त मिलाएको छ, तर सधैं यसैगरी खान दिने अवस्था छैन ।

महासंघका महासचिव सरोज सिटौला भन्नुहुन्छ, ‘चालक, सहचालक र काउन्टर कर्मचारी गरेर करिब १० लाख यातायात मजदुर र उनीहरुसँग आश्रित झण्डै ४० लाख समस्यामा परेका छन् ।’ कोरोना महामारीबाट बेरोजगार हुन पुगेका यातायात श्रमिकको एकै स्वर छ, ‘हामीप्रति सरकारको दायित्व के हो ?’

राहत पाउनै मुश्किल

सरकारले दैनिक ज्यालादारीका लागि भनेर केही खाद्य सामग्री उपलब्ध गराएको थियो । तर त्यो लक्षित समूहसम्म पुग्न सकेको देखिँदैन । पुगे पनि सडेगलेको सामग्री  वितरण भएको र समस्यामा परेका वास्तविक श्रमिकले पाउन नसकेको गुनासा बढेका छन् । केही ठाउँमा व्यक्तिगत रुपमा पनि राहत वितरण भयो भने केही नीजि संघसंस्थाले पनि राहत वितरण गरे, तर विवादरहित भने हुन सकेन ।

कतिले नाम कमाए, कतिले दाम कमाए र कतिले पुण्य कमाए भन्ने लेखाजोखा छैन । यातायात मजदुरमध्ये धेरैले त राहत नै पाउन सकेनन् ।

बजेटमा यातायात : निराश व्यवसायी

आर्थिक वर्ष २०७७-७८ को बजेटमा व्यवसायीको अपेक्षा अनुसार सरकारले कोरोनाको प्रभावका कारण रोकिएका सार्वजनिक यातायातलाई राहत दिने घोषणा गर्यो । तर व्यवसायीले भने चित्त बुझाएका छैनन् ।

बजेटमा यातायात क्षेत्रमा परेका प्रभाव कम  गरी पुनः सञ्चालनका लागि बैंक कर्जामा सहुलियत, रुट पर्मिट र नवीकरणमा छुट दिने व्यवस्था मिलाइएको छ । तर अरु क्षेत्रमा जसरी प्रतिशतमा सहुलियतको घोषणा गरियो, त्यसरी यातायातको क्षेत्रमा नगरेको व्यवसायीको आरोप छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण गाडी थन्किएकोले गाडीको मेशिन बिग्रिएको, विभिन्न महत्वपूर्ण पार्टस्मा खिया लागेको, टायर च्यातिएको अवस्था भएकाले अब गाडी पुुरै मर्मत गरेपछि मात्र चलाउनुपर्ने अवस्था छ । यसका लागि पनि ठूलो धनराशी खर्च गर्नुपर्ने हुँदा आफूहरुलाई सहयोग गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

त्यस्तै बजेटले यातायात मजदुर तथा स्वरोजगार यातायात व्यवसायीको समस्या सम्बोधन नभएको उनीहरुको बुझाई छ । बजेटमा सार्वजनिक गरिएको प्याकेजले यातायात व्यवसायी त जेनतेन धानिएलान्, तर साढे दुई महिनादेखि बेकामे भएर बसेका यातायात मजदुरले घर चलाउन नसक्ने अवस्था छ ।

यो महिनाभरी लकडाउन छ । सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरे पनि निर्णय भैसकेको छैन । लकडाउनले कहिलेसम्म निरन्तरता पाउने हो, गाडी कहिलेसम्म सञ्चालन हुन नसक्ने हो थाहा छैन ।

लकडाउनकै अवधिमा शर्तसहित अत्यावश्यक क्षेत्र र केही उद्योग सञ्चालन भईरहेका छन् । यसरी अरु उद्योग सञ्चालन भैरहँदा सार्वजनिक यातायात चल्न नसक्दा समस्या भएको छ । तर अहिलेकै अवस्थामा सार्वजनिक गाडी चलाउन सकिने स्थिति पनि छैन । 

कोरोना केही हदसम्म नियन्त्रणमा आएपछि गाडी चलाउने, थला परेका मजदुर र व्यवसायीलाई उकास्ने लगायतका विषयमा सरोकारवाला निकायबीच छलफल हुन आवश्यक छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया