एकदिवसीय क्रिकेट : नेदरल्याण्ड्ससँग नेपाल ५५ रनले पराजित

 साउन १६, २०७५ बुधबार २२:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ५५ रनले पराजित भएको छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको छ । 

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धरमराउन शुरु भएको थियो । दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उनी ३३ रनमा पेभेलियन फर्किएका थिए । त्यसैगरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने उनको चल्न सकेन । उनी १२ रनमा आउट भए । शक्ति गौचन ४ रन जोड्दै नट आउट रहे । 

चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । आरिफ शेख, सोमपाल कामी र बसन्त रेग्मी, करन केसी खाता नै नखोली आउट भएका हुन् । 

सन्दीप लामिछानेले एक रन जोडेका थिए । फिल्डिङ गर्दा औंलामा चोट लागेका शरद भेषावकर अन्तिम नम्बरमा ब्याटिङमा आउनु पनि नेपालकालागि दुर्भाग्य बन्यो । उनी जम्मा ४ रनमा आउट भएपछि नेपालको पारि सकिएको थियो । 

नेपाललाई रोक्ने क्रममा नेदरल्याण्ड्सका पिटर स्लेनर, मिचेल रिप्पोन तथा फिडर क्लासेनले तीन तीन विकेट लिए । टस जिति पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले नेपाललाई १८९ रन बनाएको थियो । नेदरल्याण्ड्स ४७ ओभर चार बलमा अलआउट भएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्सलाई दबाबमा राखेका थिए । 

नेपालका कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए । यसैगरी सोमपाल कामी, बसन्त रेग्मी, करन केसी र सन्दीप लामिछानले एक एक विकेट लिएका थिए । अर्कोे खेल पर्सी शुक्रबार हुने छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया