घर आउन चाहने सबै नेपालीलाई फिर्ता ल्याउनुपर्छ : कांग्रेस

 जेठ २४, २०७७ शनिबार १८:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले कोरोना महामारीकाे अवस्थामा विदेशमा रहेका र फर्कन चाहने सबै नेपालीलाई घर फर्काउन सरकारसँग आग्रह गरेको छ ।

सरकारले विभिन्न देशबाट २५ हजार नेपालीलाई फिर्ता गर्ने तयारी गरिरहेकोमा सङ्ख्या तोकेर नभइ आउन चाहने सबै नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन कांग्रेसले आग्रह गरेको हो ।

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति निकालेर जुनसुकै देशमा रहेका नेपालीलाई आफ्नो घर फर्कन पाउने अधिकार रहेकाेले तत्कालीन र दीर्घकालीन योजना बनाएर उनीहरुलाई घर फर्काउनुपर्ने जनाइएकाे छ । 

उहाँले नेपालीलाई घर फर्काउन थालिएकोमा सरकारलाई धन्यवाद पनि दिनुभएको छ । चालु आर्थिक वर्षमा विदेशमा रहेका पाँच लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै संयोजक भट्टराईले अब त्यसलाई कार्यान्वयन गर्न सकिने समय आएको बताउनुभएको छ । 

रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैले खर्च गरेर वा सम्बन्धित देशका सरकारसँग कुटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउन प्रबन्ध गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको रोजगारी पनि गुमेको र तत्काल घरबाट पैसा पठाउन नसकिने अवस्थाका कारण पढाइ बीचमै छोड्नुपर्ने अवस्था आउन थालेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Deviramregmi

    June 6, 2020, 9:21 p.m.

    I want to go back my house I

  •  0 Reply

तपाईको प्रतिक्रिया