उच्चस्तरीय समिति बैठक : आर्थिक क्रियाकलाप सञ्चालन गर्न दिने विषयमाथि छलफल

 जेठ २४, २०७७ शनिबार २१:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डो – कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल सुरु गरेको छ । 

समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमशः सुरु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका समेत सचिव रहनुभएका नारायणप्रसाद बिडारीले आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्र, अस्पताल तथा प्रयोगशालालागयतका क्षेत्रहरुलाई क्रमशः सहजता दिलाउँदै चरणबद्ध रुपमा सञ्चालन गर्न सहजीकरण गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको बताउनुभयो । 

आज त्यो मस्यौदामाथि कुनै निर्णय नभएको र फेरि बैठक बसेर निर्णयमा पुगिने उहाँले बताउनुभयो । उहाँले विभिन्न औद्योगिक र निर्माणसँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुरु गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्डसमेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बताउनुभयो ।

पछिल्लो समय लकडाउन लम्बिँदै गएपछि उद्योगी, व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिँदै आएका छन् । समितिले आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा त्यो मस्यौदा पठाउने तयारी गरिरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया