उपचारमा अब्बल बन्दै भरतपुर अस्पताल

 साउन १७, २०७५ बिहिबार ९:३१:२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – मेडिकल सहरको रुपमा अघि बढिरहेको चितवनमा सरकारी भरतपुर अस्पताल अब्बल बन्दै गएको छ । वि.सं. २०१३ मा एउटा छाप्रोबाट सुरु भएको भरतपुर अस्पताल अहिले भव्य भवनमा सञ्चालित छ । १५ शैय्याबाट सेवा सुरु गरेको अस्पतालमा अहिले ६ सय शैय्या छन् ।

देशको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवनसहित वरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्याँक छ । अस्पतालमा गएको आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो ।

ओपीडी र प्रसुतिमा दोश्रो

भरतपुर अस्पतालमा ओपीडी सेवाका लागि काठमाडौंको वीर अस्पताल पछि दोश्रो रहेको छ । विरामीको तथ्याँक अनुसार काठमाडौँको प्रसुति गृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल रहेको तथ्याँकले देखाएको छ । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्र्भवतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेण्डेन्ट खड्काका अनुसार १४ वटा विभागमार्फत् अस्पतालले सेवा दिँदै आएको छ । राजधानी बाहिर अन्य अस्पतालले सो परिमाणमा सेवा दिन नसकेको उहाँको दाबी छ ।

अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्ष, शल्यक्रियाका लागि छ वटा अत्याधुनिक टेवल, न्यूरो सर्जरी उपकरण, डायलाइसिस सेवा, जोर्नी प्रत्यारोपण सेवा, सिटिस्क्यानलगायत सेवा उपलब्ध छन् । अस्पतालको आफ्नै नाममा ३१ बिगाहा ११ कट्ठा जग्गा रहेको छ । अस्पतालमा सरकारी र विकास समितितर्फ गरी ६ सय ७२ कर्मचारी र एक सय २३ चिकित्सक कार्यरत छन् ।

अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना भएपछि बिरामीहरु लाभान्वित भएका छन् । ट्रमा सेन्टर ५० बेड क्षमताको छ भने १२ बेड क्षमताको स्पाइनल इन्जुरी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । अस्पतालले यसलाई थप विस्तार गर्दै लाने योजना बनाइसकेको छ । अस्पतालमा १६ वटा नियोनेटल केयर युनिट र १२ बेडको छुट्टै एनआइसियू सेवा निःशुल्क उपलब्ध गराइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. खड्काले बताउनुभयो  ।

सेवा विस्तारकै क्रममा रहेको भरतपुर अस्पतालले दन्त चिकित्सा विभागमा अत्याधुनिक प्रविधिको मेसिन राखेको छ । दाँतको उपचारका लागि सुविधासम्पन्न ‘डेन्टल चियर’ राखिएको अस्पतालले जानकारी दिएको छ । 

केन्द्रीय अस्पताल बनाउन पहल

सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । राजनीतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुखलगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउन पहल गर्ने निर्णय गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। रबिन खड्काले बताउनुभयो ।

अस्पतालले शैक्षिक कार्यक्रमतर्फ प्रमाणपत्र तह नर्सिङ र स्नातक नर्सिङको पठनपाठन गराउँदै आएको छ । यसका साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)मा एमडी एमएसमा अध्ययन गर्ने विद्यार्थीहरु प्रयोगात्मक कक्षाका लागि यसै अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो ।

अस्पताल परिसरमा नै नेपाल सरकारको तालीम केन्द्रका रुपमा नियमित तालीम पनि सञ्चालन हुँदै आएको छ । प्रसूतिसम्बन्धी तालीम राष्ट्रिय रुपमा भरतपुर अस्पतालमा नै हुने गरेको छ ।

विपदको हव

भरतपुर अस्पताललाई विपद तथा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि ‘हब’ अस्पताल बनाइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्राकृतिक विपत्तिबाट मानवीय स्वास्थ्यमा हुने असर न्यूनीकरण र उपचारका लागि भरतपुर अस्पताललाई मध्य क्षेत्रको हब अस्पताल बनाएको हो । भरतपुर अस्पताल वरपरको सुविधासम्पन अन्य सरकारी तथा निजी अस्पताललाई ‘स्याटेलाइट’ अस्पतालका रुपमा तोकिएको छ ।

आवश्यकता अनुसार हब अस्पतालले स्याटेलाइट अस्पतालसँग समन्वय र सहकार्य गर्नेछ । विपदको बेला स्वास्थ्य सेवा प्रदायक संस्थालाई समन्वय गराएर मानवीय क्षति कम हुनेगरी व्यवस्थापन मिलाइने भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अक्सिजन उत्पादन 

भरतपुर अस्पतालले आफैंले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो । एक करोड ४६ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । वार्षिक अक्सिजन खरिदमा ७० लाख रुपैयाँ हाराहारी खर्च हुने गरेकामा दुई वर्षमा खर्च हुने पैसाले प्लान्ट नै निर्माण गरिएको अस्पतालले जानकारी दिएको छ । 

सामाजिक सेवा प्रभावकारी 

भरतपुर अस्पताल विपन्न वर्गको लागि वरदान नै बनेको छ । अस्पतालले गरिब तथा विपन्न नागरिक उपचार राहत कोष खडा गरेको छ । सरकारले दिने निःशुल्क उपचार सेवा पूर्ण नभएकोले त्यसलाई पूर्णता दिन यो कोष बनाएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले सामाजिक सेवा इकाइमार्फत विभिन्न १२ वटा लक्षित समूहमा बिरामीलाई निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । गएको वर्ष मात्र अस्पतालले एक करोड भन्दा बढी रकमको निःशुल्क उपचार सेवा बिरामीलाई दिएको छ ।

अस्पतालले सरकारले निःशुल्क गरेको डायलाइसिस सेवा सुरु गरेको छ । चितवनका निजी अस्पतालहरुमा डायलाइसिस सेवा नयाँ नभए पनि सरकारी अस्पतालमा सुरु गरिएको यो सेवाले त्यस क्षेत्रका मिर्गौलाका बिरामीलाई निकै राहत मिलेको छ । अस्पतालसँग १२ वटा डाइलाइसिस मेसिन छन् ।

स्थानीय सरकार आइसकेपछि भने भरतपुर महानगरपालिकाले महिला तथा ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा निःशुल्क गरेको छ । ओपीडी सेवा बराबरको करिब ६० लाख रुपैयाँ महानगरले अस्पताललाई सोधभर्ना गरेको छ । सरकारले ५५ लाख रुपैयाँ सोधभर्ना गरे पनि गएको वर्ष अस्पतालले सामाजिक सेवा इकाइमार्फत एक करोड ६ लाख रुपैयाँ बराबरको सेवा दिएको थियो ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया