​कुलमान घिसिङले भने : बिजुली खेर जाने भो भन्दै हल्ला गर्ने होइन, काम गर्नुस्

 जेठ १४, २०७५ सोमबार १४:२७:५ | अर्जुन पोख्रेल

लमजुङ, जेठ १४ - नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रले उत्पादन गर्ने  एक युनिट बिजुली पनि खेर जान नदिने प्रतिवद्धता जनाएको छ । 

जलविद्युत निर्माता कम्पनीले प्राधिकरणले सब–स्टेशन केन्द्र तथा प्रशारण लाइन निर्माणमा ढिलाई गर्दा बिजुली खेर जान सक्ने चिन्ता जनाएका बेला प्राधिकरणले भने निर्माणाधीन जलविद्युत आयोजनाले उत्पादन गर्ने एक युनिट विद्युत पनि खेर जान नदिने प्रतिवद्धता जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब–स्टेशन तथा प्रसारण लाइन बनाइसक्ने बताउनुभयो । उहाँले प्रसारण लाइन तथा सब–स्टेसनको काम तीव्र गतिमा अघि बढाउन प्रसारण लाइनका आयोजना प्रमुखलाई निर्देशन पनि दिनुभएको छ ।  

‘दोर्दी करिडोरमा निर्माणाधीन आयोजना सम्पन्न हुने तर प्रसारण लाइन नबनाइदिँदा विद्युत खेर जाने अवस्था रहेको गुनासो थियो, तर ती आयोजनाको निर्माण प्रगति हेर्दा त्यस्तो अवस्था नरहेको देखियो’, उहाँले भन्नुभयो, ‘ती आयोजनाभन्दा पहिले प्रसारण लाइन बनाउछौँ’, प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन दिँदैनौँ ।’ 

प्राधिकरणले प्रसारण लाइन समयमा नबनाइदिँदा विद्युत खेर जाने अवस्था आउन लागेको गुनासो सार्वजनिक भएपछि घिसिङ नेतृत्वको टोली निर्माणाधीन प्रसारण र जलविद्युत आयोजनाको अबस्था बुझ्न स्थलगत निरीक्षणमा गएको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिएपछि कार्यकारी घिसिङ आयोजनाको अवस्था बुझ्न शनिबार र आइतबार स्थलगत निरीक्षणमा गएका हुन् । 

टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सब–स्टेशनको निरीक्षण गरेको थियो । यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ‘ख’ र बुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निरीक्षण गरेको थियो । 

‘सब–स्टेशन बन्ने जग्गामा ढुंगा माटो फालेर हामीलाई काम गर्न नदिने अनि उल्टै प्राधिकरणले प्रसारण लाइन बनाइदिएन, बिजुली खेर जाने भो भन्दै हल्ला गर्ने ?’ घिसिङले आयोजनालाई निर्देशन दिँदै भन्नुभयो, ‘तत्काल त्यसलाई हटाउनुहोस्, नत्र तपाईँहरुका कारण कति दिन काम ढिला हुन्छ गणना गरी जरिवाना तिराउँछौँ ।’ 

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । निर्माण १८ महिनाभित्र भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ । 

आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध सञ्चालक डाक्टर आत्माराम घिमिरे र सञ्चालक रामबहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो फाल्ने प्रतिद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिँदै घिमिरेले डिसेम्बर २०१८भित्र निर्माण सक्ने दावी गरे । 
कीर्तिपुरमा सब–स्टेशन बनाउने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ले विद्युत गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम सुरु गर्न सकिरहेको छैन । 

प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यावसायिक रुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति आरसीओडी भने  अगस्ट २०१९ छ ।

हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । पीपीए अनुसार आयोजनाको आरसीओडी पनि अगस्ट २०१९ नै रहेको छ । 

प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको बताउनुभयो । 

दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत प्रवाह गर्न उदिपुरमा सब–स्टेशन बनाउनु पर्छ । उदिपुर–मार्किचोक प्रसारण लाइन बन्नुपर्छ । सब–स्टेशन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजना प्रमुख चिरन्तन राणाले बताउनुभयो । 

‘उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि जनवरी २०१८ बाट ठेक्का कार्यान्वयनमा आइसकेको छ’, राणाले भन्नुभयो ,‘१८ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ खुदीमा सब–स्टेशन निर्माणका लागि प्राधिकरणले जग्गा किनिसकेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया