जुडोका प्रशिक्षक असन्तुष्ट ः कोसँग सल्लाह गरेर खेलाडी छनौट गरियो ?

 साउन १७, २०७५ बिहिबार १४:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – खेलाडी छनोटको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको भन्दै नेपालका मुख्य प्रशिक्षक डान टेलेर्काले असन्तुष्टि व्यक्त गरेका छन् ।

एसियाली खेलकुदका लागि वैदेशिक प्रशिक्षणमा जान लागेको नेपाली टिमको बिदाईका क्रममा प्रशिक्षक टेलेर्काले छनोटप्रति असन्तुष्टि व्यक्त गरे । प्रशिक्षणमा अब्बल भएका केही खेलाडीलाई छुटाएको आरोप प्रशिक्षकको छ ।

प्रशिक्षक टेलेर्काले ६० केजी तौल समूहमा सुदेश दोङ प्रशिक्षणमा निकै राम्रो भए पनि उनलाई मौका नदिइएको असन्तुष्ट भएका हुन् । प्रशिक्षक टेलेर्काले प्रश्न गरे, ‘हामीसँग राम्रा खेलाडी नभएका होइनन् तर कोसँग सल्लाह गरेर खेलाडी छनोट गरियो ?’ ‘प्रशिक्षण र प्रतियोगिता सन्तुलित हुन जरुरी छ’, उनले थपे ।

एसियाली खेलकुदमा नेपालबाट ६ खेलाडीले मात्र सहभागिता जनाउनेछन् । सुमित्रा राई र संजय महर्जन वैकल्पिक खेलाडी हुन् भने उमेश मगर र इन्द्रबहादुर श्रेष्ठलाई भने थाइल्याण्ड इन्टरनेसनल प्रतियोगिताको अघिल्लो संस्करणमा काँस्य जितका कारण पुनः मौका दिइएको नेपाल जुडो संघले जनाएको छ ।

प्रशिक्षक टेलेर्काको प्रश्नमा जवाफ दिँदै नेपाल जुडो संघका अध्यक्ष बज्राचार्यले भने, ‘केही खेलाडीलाई स्पाइरिङ पार्टनरको आवश्यकता छ भने केही खेलाडीले अघिल्लो संस्करणमा पदक जितेका कारण उनीहरुलाई छनोट गरिएको हो । बोर्ड र प्रशिक्षकको सल्लाहमा नै खेलाडी छनोट गरिएको हो । छनाटको सम्बन्धमा तपाईँलाई कसरी जानकारी भएन त्यसबारे म अनविज्ञ छु ।’

‘आर्थिक कारणले गर्दा धेरै खेलाडीलाई प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता गराउन नसकिएको हो ।’

आउँदो १७औं एसियाली खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीलाई विशेष प्रशिक्षण दिनका लागि टेलेर्का सात महिनाअघि नेपाल आएका थिए । उनलाई अन्तर्राष्ट्रिय जुडो संघले एक वर्षका लागि नेपाल पठाएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया