प्रदेशसमा २ मा उपसचिवको मनपरी, मुख्यसचिव बनाउने सभामुखको तयारी

 साउन १७, २०७५ बिहिबार १६:३६:२२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेशसभा जस्तो संवेदनशील ठाउँमा सभामुखकै सहयोगमा सात महिनादेखि एक उपसचिव गैरकानुनी रुपमा बसिरहेको सुन्दा जोकोहीलाई पनि अचम्म लाग्छ ।

संघीय संसद सचिवालयका एक उपसचिव र प्रदेश २ का सभामुखको क्रियाकलापले यहाँका कर्मचारी अचम्ममा मात्रै परेका छैनन्, आक्रोशित समेत भएका छन् ।
प्रदेशसभा २ मा सुुरुमै प्रदेशसभा तालिम सञ्चालनका निम्ति १ महिनाका लागि संघीय सांसद सचिवालयबाट काजमा आएका उपसचिव रञ्जित यादव अहिलेसम्म प्रदेशसभामै गैरकानुन रुपमा बसिरहेका हुन् ।

उपसचिव यादवसहित तालिम सञ्चालनका लागि संघीय सांसद सचिवालयबाट चारजनाको टोली आएको थियो । जसमा सहसचिव वंशिराज पौडेल, उपसचिव रंजित यादव, शाखा अधिकृत राजन सापकोटा र सुब्बा निधिकान्त झा थिए । 

उपसचिव यादवबाहेक तीनैजना तालिम समाप्त भएपछि फर्किसकेका छन् । तर उपसचिव यादव सभामुख सरोज यादवकै आडमा अहिलेसम्म गैरकानुनी रुपमै प्रदेशसभा बैठकमा बस्ने गरेका छन् ।

त्यति मात्र होइन, उपसचिव यादव सार्वजनिक खरिद ऐन, २०६३ र नियमावलीको ख्याल समेत नगरी सांसद र कर्मचारीहरुको लागि कोट र कपडा, फोटोकपी, कम्प्युटर, प्रिन्टर लगायतका सरसमान खरिदमा समेत सामेल हुने गरेका स्रोतको भनाई छ ।

उपसचिव यादव संघीय सांसद सचिवालयमा काज समेत नमिलाई सात महिनादेखि बिदा लिएर प्रदेश २ मा सभामुख सरोज यादवसँगै बस्दै आएका छन् र महिनैपिच्छे गएर संघीय सांसद सचिवालयमा हाजिरी गर्ने गरेका छन् । जसको हाजिरी पनि उज्यालो अनलाइनले फेला पारेको छ ।

अहिले प्रदेशसभा २ सचिवालयमा उपसचिव यादवको कुनै कार्यकक्ष छैन । प्रदेशसभा २ सचिवालका सचिव दिपाकर पौडेलसँग यस विषयमा बुझ्न खोज्दा उहाँले उपसचिव यादवको कुनै कार्यकक्ष बताउनुभयो । प्रदेशसभा सचिवालयका उप–सचिव शान्तिराज प्रसाईँले आफूभन्दा पहिला नै उपसचिव रञ्जित यादव आएको र प्रदेशसभा बैठकको पोडिएममा बस्ने गरेको बताउनुभयो ।

उपसचिव यादव आफू सभामुखको मान्छे भन्दै त्यहाँका अन्य कर्मचारीहरुलाई धम्काई आफू अनुकूल निर्णय र सरमान खरिदमा  ठेकेदारसँग मिलेमतो गरी आर्थिक चलखेलसमा समेत सामेल भएको सचिवयालयका एक कर्मचारीले बताए ।

यादवले संघीय संसद सचिवालयमा काज माग गरी चिठी समेत पठाएका छन् । तर उनको काज स्वीकृत नभएको संघीय सचिवालयले जनाएको छ । सभामुखको आडमा उपसचिव यादव प्रदेशसभामा बसेर करारमा कर्मचारी भर्ना लगायत क्रियाकलापमा समेत संलग्न रहेको सचिवालयका अधिकारीको दाबी छ ।

सहयोगी भएकाले पोडियममा बस्छु : उप–सचिव यादव

‘तपाईँ संघीय सचिवालयको कर्मचारी प्रदेशसभा २ सचिवालयमा के आधारमा बस्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा उप सचिव यादवले भने ‘त्यहाँबाट काजमा पठाउँछ । म आउँछु । फेरि म जान्छु ।’ काजमा जाने आउने हुनाले आफ्नो कार्यकक्ष नभएको पनि यादवको भनाई छ ।


 
उप–सचिव यादवले आफू सहयोगीको रुपमा रहेकाले प्रदेशसभा बैठमा बस्ने गरेको स्वीकार गरे । तर प्रदेशसभाको सरसमान खरिदमा आफ्नो कतै कुनै संलग्नता नरहेको दाबी गरे ।

उपसचिव यादवलाई मुख्य सचिव बनाउने तयारीमा सभामुख

उप–सचिव यादव सभामुख सरोज यादवका सबभन्दा निकट पात्र हुन् । त्यसैले प्रदेशसभा २ मा सबै हर्ताकर्ता उपसचिव यादव नै रहेको स्रोतको भनाई छ ।

उपसचिव यादवको विषयमा सभामुख सरोज यादवले भन्नुभयो, ‘सुरुमै आउनु भएको थियो । त्यही बेलादेखि प्रदेशसभा बैठकको पोडियममा बस्दै हुनुहुन्छ । मैले उहाँलाई यहाँ काज मिलाएर बस्न दिन संघीय संसदको सभामुखलाई समेत आग्रह गरेको छु’, उहाँले थप्नुभयो, ‘मुख्य सचिव तोक्ने मेरो अधिकारको कुरा हो । सचिवालयमा अहिले आएका सचिव समेत काजमै आएका छन् । त्यसैले अब उप–सचिव यादवलाई नै यहाँको मुख्यसचिव बनाउने मेरो तयारी छ ।’

सभामुखको आलोचना

केही दिनअघि सभामुख यादवले प्रदेशसभा सचिवालयमा करारमा आफ्ना केही कर्मचारी रहेको भन्दै आफ्नो तलबभत्तासहित १८ लाख रुपैयाँ नियम विपरीत खातामा जम्मा गराएको समाचार सार्वजनिक भएको थियो ।

त्यसपछि सभामुख यादवको व्यापक आलोचना समेत भएको थियो । उप–सचिव यादव जस्तो व्यक्तिलाई सात महिनादेखि नै प्रदेशसभा २ को सचिवालयमा गैरकानुनी रुपमा राखेर निकट पात्र बनाउनु र प्रदेशसभा बैठकमा बस्न दिएको भन्दै थप आलोचना भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया