सरकारले संसदलाई पार्टीको रुपमा चलाएको कांग्रेसको आरोप

 साउन १७, २०७५ बिहिबार १६:५६:३९ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य र मान्यतालाई कुल्चिँदै गएको भन्दै आपत्ति जनाएको छ ।

सभामुखले मन्त्रीसँगको प्रश्न उत्तरको समय नदिएको भन्दै प्रतिनिधिसभाको बिहीबारको बैठक बहिष्कार गरेको कांग्रेसले सरकारले संसदलाई पार्टीको रुपमा लिएको आरोप पनि लगाएको छ । 

बैठक बहिष्कारपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदीय पद्धति र परम्पराको पालना गर्ने दायित्वबाट सरकारपछि हटेको र संसदीय मूल्य मान्यतालाई कुल्चिँदै गएको बताउनुभयो । उहाँले समयमै सच्चिन सभामुख र सरकार दुवैलाई चेतावनी दिनुभयो ।  

उहाँले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ मा भएको व्यवस्था अनुसार मन्त्रीसँग थप जिज्ञासाका लागि समय माग गर्दा सभामुखले उपलब्ध नगराएकाले बैठक बहिष्कार गर्नुपरेको बताउनुभयो ।

कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले संसदलाई पार्टीको रुपमा लिएको भन्दै आगामी दिनमा नसच्चिए कडा प्रतिकारमा उत्रने र त्यसको जिम्मेवार सरकार हुने चेतावनी दिनुभयो ।

सभामुख कृष्णबहादुर महराले भने बैठक बहिष्कार गर्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो । उहाँले शुन्य समय र विशेष समयमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले दिएको जवाफमा प्रश्न उत्तरको व्यवस्था नियमावलिले नगरेको बताउनुभयो ।

कञ्चनपुरमा भएको बालिका बलात्कारपछिको हत्याको घटना बारे सदनलाई जानकारी दिएका गृहमन्त्री रामबहादुर थापासँग प्रश्न उत्तरको समय नदिएको भन्दै कांग्रेसले बिहीबारको बैठक बहिष्कार गरी बाहिरिएको हो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया