धरहरा र रानीपोखरी ३ वर्षभित्रै बन्ने

यो वर्ष २ सय सम्पदाको पुनर्निर्माण सकिने

 साउन १७, २०७५ बिहिबार १७:२५:१० | उज्यालो सहकर्मी

काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ वर्षभित्र धरहरा र रानीपोखरीको पुनर्निर्माण सक्ने लक्ष्यसहित कार्ययोजना सार्वजनिक गरेको छ ।
कार्ययोजनामा धरहरा तीन वर्षभित्र सक्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम गर्ने उल्लेख छ ।

त्यस्तै काष्ठमण्डप र रानीपोखरी काठमाडौं महानगरपालिकाले तीन वर्षभित्र सक्ने गरी भौतिक कार्य सुरु गर्ने भनिएको छ । 

रानीपोखरी पुरातत्व विभागले तयार पारेको डिजाइन अनुसार नै निर्माण कार्य सुरु हुने भएको छ । 

रानीपोखरी परिसरको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण यहि चैत भित्र पुरातत्व विभागले सम्पन्न गर्ने भनिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त सम्पदा यो वर्षभित्र ८० प्रतिशत पुनर्निर्माणको लक्ष्य सहित कार्ययोजना सार्वजनिक गरेको छ । 

नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएका विषय समेटेर मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो । 

कार्ययोजनामा राष्ट्रिय संग्रहालय निर्माण र सम्पदा संरक्षण एवं पुनर्निर्माण शिर्षक अन्र्तगत भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गर्ने उल्लेख छ । 

यस्तै भूकम्पबाट क्षतिग्रस्त सम्पूर्ण सम्पदा संरक्षण तथा पुनर्निर्माण कार्य तीन बर्षभित्र सम्पन्न गर्ने र थप २ सय सम्पदा यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ । 
कार्ययोजनामा १ सय ३१ सम्पदाको पुनर्निर्माण भैसकेको उल्लेख छ ।

विश्व सम्पदा सूचिमा रहेका काठमाडौं उपत्यकाभित्रका सम्पदाको पुनर्निर्माण तीन वर्ष भित्रै सक्ने लक्ष्य छ ।

स्वयम्भू र बौद्धनाथ यहि पुस, पशुपति, चाँगुनारायण, पाटन दरबार परिसर २०७७ सालको असार मसान्तभित्र तथा हनुमानढोका र भक्तपुर दरबार परिसर २०७८ सालको असार मसान्तभित्रै सक्ने उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया