प्रधानमन्त्री ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ भने तर यस्तो छ हाल

 साउन १७, २०७५ बिहिबार १८:५२:१४ | रासस
unn.prixa.net

काठमाडौं – तीन वर्षअघिको गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको ऐतिहासिक सम्पदा धरहराको भग्नावशेषमा प्लाष्टिकले छोपी संरक्षण गरिएको छ । 

तीन वर्ष बितिसक्दासम्म पुनः निर्माण गर्ने विषयमा सम्बद्ध निकायले काम सुरु गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ नारा दिनुभए पनि यसको पुनः निर्माणकाको काम सुरु हुन सकेको छैन । कहिले पुरातत्व विभागले त कहिले नेपाल टेलिकमले बनाउने भनिए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । 

बुधबार साँझ काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख हरिप्रभा खड्गीले भीमसेनस्तम्भको भग्नावशेषलाई प्लाष्टिकले छोपी संरक्षणको प्रयास गर्नुभयो । ‘वर्षाको समय छ, धरहरा निर्माणको समयमा प्रयोग भएका माटो, इँटालगायत सम्पूर्ण सामग्री ऐतिहासिक हुन्छन्, पुनःनिर्माण सुरु हुनुअघि बाँकी रहेको संरचनालाई घामपानीको असरबाट जोगाउन प्लाष्टिक ओढाइएको हो’, कार्यवाहक प्रमुख खड्गीले भन्नुभयो । 

त्यसै क्रममा ‘सम्पदा बचाऔँ’ अभियानकर्मी पछिल्लो समय कामपाले सम्पदा संरक्षणमा चासो दिन थालेको भन्दै खुशी भएका थिए । अभियानकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले भन्नुभयो, ‘१९९० सालमा पनि धरहरा भूकम्पका कारण भत्केको थियो, पुर्खाहरुले पहिले जस्तै बनाएर राख्नुभयो । त्यसपछि २०७२ सालमा पनि भूकम्पकै कारण पूर्ण रुपमा क्षति भएको छ, अब पनि ९० सालपछि निर्माण भएजस्तै निर्माण हुनुपर्छ ।’ 

संविधानको धारा ३२ ले भाषा र संस्कृतिको सम्पदाको संरक्षणका बारेमा उल्लेख गरेअनुसार सम्पदाको पुनःनिर्माण हुनुपर्ने सम्पदाप्रेमीको माग छ । धरहरा १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गर्नुभएको हो । 

नब्बे सालको भूकम्पले धरहरा भत्किएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले नौ तलाको धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । उक्त धरहरा पनि पुनः विसं २०७२ को भूकम्पले पूर्ण नष्ट भएको छ । इँटा, चुन, मास र चाकुको मिश्रणबाट मुगलशैलीमा धरहरा निर्माण भएको हो
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया