कर्णालीमा डाक्टरी पढाई पक्का : तीव्र तयारी थाल्दै प्रतिष्ठान

 साउन १७, २०७५ बिहिबार १९:३४:५० | नेत्र शाही

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डाक्टर पढाईको तीव्र तयारीका थालिएको छ ।

प्रतिष्ठानले उच्च स्तरको स्वास्थ्य शिक्षा दिने भन्दै एमबीबीएस कक्षाको पढाई संचालन गर्न तीव्र तयारी थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
प्रतिष्ठानले एमबीबीएस कक्षा सञ्चालन गर्न शिक्षक नियूक्ति कार्य सुरु भएको छ भने अर्कोतिर एमबीबीएसको पाठ्यक्रम निर्माण भइरहेको काफ्लेले जानकारी दिनुभयो ।

२०७५ वैशाख १ गते जुम्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पहिलो पटक सम्पन्न छैटो सिनेटको बैठक र तत्कालीन प्रधानमन्त्री शेरबहादुुर देउवाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न ५ औं सिनेटको बैठकले एमबीबीएस सञ्चालन गर्ने निर्णय गरेअनुसार यो वर्षदेखी डाक्टर पढाई गर्नका लागि तयारी थालिएको प्रतिष्ठानले जनाएको छ ।

यसका साथै चाँडै डाक्टर पढाई हुनुपर्ने भन्दै डाक्टर गोविन्द केसीले जुम्लाबाट थाल्नुभएको अनसनले पनि डाक्टर पढाई योजना झन बलियो भएको हो ।

आवश्यक शिक्षक खोजी

डाक्टर पढाई गर्नका लागि उच्च तहका आवश्यक शिक्षकहरु ल्याइने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले चिकित्सा क्षेत्रमा विद्यावारिधि गरेका, विशेषज्ञ शिक्षा हासिल गरेका आवश्यक शिक्षकहरुका लागि सूचना प्रकाशन समेत गरिसकेको छ ।

यसैगरी पठनपाठनका लागि भौतिक संरचनाको निर्माण तत्काल निर्माण भएको ३ सय शैयाको अत्याधुनिक भवनमा गर्ने र बाँकी नयाँ संचरना निर्माणको पनि तीव्र काम भइरहेको छ ।

प्रतिष्ठानको एमबीबीएस कक्षा संचालन गर्न यहाँका स्थानीयले १५ सय रोपनी जग्गा निःशुल्क दिने घोषणा गरे अनुसार काम अगाडि बढिरहेको छ । प्रतिष्ठानले निर्माण गरेको दोस्रो बहुवर्षीय योजना समेत प्रधानमन्त्री ओलीको अध्यक्षतामा जुम्लामा बसेको बैठकमा स्वीकृत भएपछि एमबीबीएस अध्ययन, भौतिक संरचना निर्माणसहित झण्डै १० अर्ब बजेट प्रतिष्ठानका लागि पारित भइसकेको हो । सोही बजेट अन्तर्गत डाक्टर  पढाई हुने प्रतिष्ठानले जनाउँदै आएको छ ।

स्नातक मिडवाइफरी सुरु

प्रतिष्ठानमा स्नातक तहको ब्याचलर अफ मिडवाइफरी अध्ययन–अध्यापन प्रक्रिया सुरु भइसकेको छ ।

यसअघि स्टाफ नर्स र हेल्थ असिष्टेन्ट अध्यापन भइरहेको छ भने यो पटक स्नातक तहको मिडवाइफरी समेत अध्ययापन गर्न परीक्षार्थीहरु मागका लागि विज्ञापन समेत गरी सकिएको रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो ।

मिडवाइफरी संचालन भएपछि प्रतिष्ठानको उचाई एक तह बढेको छ भने कर्णालीसहित देशभरका विद्यार्थीहरुले प्रतिष्ठानमा अध्ययन गर्न पाउनेछन् । यसैगरी एमडीजीपीको पाठ्यक्रम र रिपोर्ट नेपाल मेडिकल काउन्सिलङिमा बुझाई सकिएको छ ।

अक्सिजन प्लान्ट र आईसीयू भदौ भित्रै

प्रतिष्ठानमा अबको एक महिनामा हरेक बिरामीको बेडमा अक्सिजन पाइपमार्फत उपलब्ध हुनेछ । महंगो खर्च तिरेर नेपालगञ्जबाट झिकाउने गरिएको अक्सिजन अब प्रतिष्ठानले जुम्लामै प्लान्ट संचालन गरेर उत्पादन गर्ने भएको हो ।

यही भदौ महिनाभित्रै उत्पादन तयारी गरिएको र यो सञ्चालनमा आएपछि एकातिर अभाव नहुने र अर्कोतिर कर्णालीका अन्य जिल्लामा सप्लाई गर्ने उद्देश्य प्रतिष्ठानको रहेको छ । यसैगरी प्रतिष्ठानमा आईसीयू, ब्लड बैंक, वासिङ मेशिन, सिटी स्क्यान पनि यो वर्ष भित्रै स्थापना प्रतिष्ठानले जनाएको छ ।

अत्यावश्यक अवस्थामा चाहिने आईसीयू स्थापना भएमा, सिटी स्क्यान, ब्लड बैंक स्थापना भएमा जुम्लाबाट बिरामीलाई रिफर गर्न स्थिति नआउने प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईले बताउनुभयो ।

यसैगरी डाक्टर गोविन्द केसीको जुम्लामा अनसनले पनि प्रतिष्ठानको उच्च स्तरको अध्ययनका लागि थप बल भएको छ । सरकार र केसीको सम्झौता अनुसार एमबीबीएस कक्षा सञ्चालन गर्ने सहमति समेत भएको छ ।

कर्णालवासी हर्षित

घरको खाना खाएर पनि डाक्टर पढाउन पाउने सपना नजिकिँदै गरेकोले कर्णालीवासीमा हर्ष छाएको छ ।

महंगो खर्च व्यहोरेर काठमाडौं र विदेशमा डाक्टर पढाउनुपर्ने बाध्यता अब टुंगिएको छ । स्थानीय शुलोचना हितानले भन्नुभयो, ‘जुम्लामै अस्पताल खुलेपछि छोेरीलाई स्टाफ नर्स पढाउन पाइयो, यहीँ जागिर भयो, अब डाक्टर पढ्ने अवसर पनि आउने कुराले खुशी बनाएको छ ।’

यहाँ अध्ययनरत विद्यार्थीहरुले पनि उस्तै आशा गरेका छन् । कालिकोटबाट आएर स्टाफ नर्स अध्ययन सकेकी मनिषा बमले अब छात्रवृत्तिमा डाक्टर पढाई भएमा पढ्न पाइने आशा पलाएको बताउनुभयो ।

स्वास्थ्यको नयाँ युग

स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाउने कर्णालीमा तत्कालीन समयमा कर्णाली प्राविधिक शिक्षालयले मध्यम स्तरको जनशक्ति सिएमए र अनमी उत्पादन गरेर गाउँ क्षेत्रमा राहात दिइरहेको समयमा अब डाक्टर पढाई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको विशेषज्ञ सेवाले स्वास्थ्यको नयाँ युग कर्णालीबाट आएको स्थानीयबासिन्दाले बताउँदै आएका छन् ।

प्रतिष्ठानका जन्मदाताका रुपमा मानिने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिष्ठानबाटै कर्णालीमा स्वास्थ्यको नयाँ युग सुरु भएको बताउनुभयो । भण्डारीले नै वि.सं २०६८ सालमा संविधानसभा सदस्य भएको बेला यहाँका राजनीतिक दलहरुको सहकार्यमा संसदमा प्रतिष्ठानको ऐन २०६८ टेबुल गर्नुभएको थियो । 
 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया