युएईमा अर्घाखाँचीकी महिलाको हत्या नभई आत्महत्या

 साउन १८, २०७५ शुक्रबार १२:३:५६ | उमाकान्त पाण्डे

युएई – युएईमा हत्या भएको भनिएकी नेपाली महिलाको आत्महत्या गरेको पुष्टी भएको छ । युएईको दुवईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी रिता खनाल गएको शनिबार आफूले का मगर्ने दुवईको कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । 

कार्यालयको शौचालय सलको पासो लगाएर झुण्डिएको र खुट्टाले भुर्इँ टेकेको अवस्थामा भेटिएकाले खनालको हत्या भएको आशंका गरिएको थियो । घटना बारे अनुसन्धान गर्न स्थानीय प्रशासनले सोही कम्पनीमा कार्यरत एक जना बङ्लादेशी नागरिकलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । 

घटनाको अनुसन्धान र शवको परिक्षणपछि खनालको हत्या नभई आत्महत्या भएको पुष्टी भएको कम्पनीले जनाएको छ । खनाल दुईबर्ष पहिले तान्जिफको क्लिनिङ कम्पनीमा काम गर्न युएई आउनुभएको थियो । ३९ बर्षिय खनालका श्रीमान सहित १ छोरा र १ छोरी छन् । खनाल कम्पनीको भिसा रद्द गरेर दसैंमा नेपाल फर्किने योजनामा रहेको परिवारले जनाएको छ । 

खनालको हत्या भएको भनिएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा अर्घाखाँचीका सभासद टोपबहादुर रायमाझीले पनि दूतावाससँग सोधपुछ गर्नुभएको थियो । लिखित कागजपत्र आइनसकेको तर मौखिक रुपमा हत्या नभई आत्महत्या भएको बारे जानकारी दूतावासमा आएको कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

अहिले दुवईको अल रशिद अस्पतालमा रहेको मृतकको शव अस्पताल र पुलिस रिपोर्ट आएपछि नेपाल पठाउने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया