कानुनमन्त्रीमा नियुक्त भएका ढकाल को हुन् ?

 साउन १८, २०७५ शुक्रबार १४:४२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । 

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राका बारेमा आपत्तिजनक अभिव्यक्ति दिएपछि शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो ।

को हुन् ढकाल ?

२०७४ सालकाे संघीस संसदकाे चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकालले कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गर्नुभएको थियो । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य भानुभक्त ढकालको जन्म २०१८ सालको पुस २१ गते तेह्रथुमको ओख्रेमा भएको हो । उहाँले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नु भएको छ । 

सिंहबाहिनी व्यावसायिक मावि, म्याङलुङबाट एसएलसी दिएका ढकालले नेपाल ल क्याम्पसबाट आइएल र बीएल गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमए गर्नु भएको हो । 

तेह्रथुममा जन्मिएका ढकालको हालको बसोबास सुन्दर हरैचा १२ मोरङमा छ । २०३५ सालमा अखिलबाट राजनीति सुरु गरेका ढकालले २०५३ सालमा अखिलको महासचिव भएपछि विद्यार्थी राजनीति छाड्नुभएको थियो । विभिन्न राजनीतिक आन्दोलनका क्रममा ढकालले पटक–पटक गरी ३ वर्ष बन्दी जीवन बिताउनु भएको छ । 

२०७० सालको संविधानसभा चुनावमा समानुपातिक तर्फबाट सभाषद बनेका ढकाल १ वर्ष ९ महिना तत्कालीन नेकपा एमालेको प्रमुख सचेतक हुनुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया