संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो व्यक्ति

 साउन १८, २०७५ शुक्रबार १४:५१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदीय सुनुवाई समितिले इतिहासमै पहिलो पटक प्रधानन्यायाधीशमा सिफारिस भएकालाई अस्वीकृत गरेको छ ।

समितिको शुक्रबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गरेको हो । यसअघि सिफारिस भएका सबै संसदीय सुनवाइबाट अनुमोदन हुँदै आएका थिए । 

समितिको दुई तिहाई बहुमतले जोशीलाई अस्वीकृत गरेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेर निस्केपछि बसेको समितिको बैठकमा दुईतिहाइले जोशीको सिफारिश अस्वीकृत गर्ने निर्णय गरेको हो। 

संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्तिलाई अस्वीकृत गर्नु न्यायलयमाथि हस्तक्षेप भएको कांग्रेसको दाबी छ । यसअघि पनि कांग्रेसले यही अडान राखेपछि बैठक पटकपटक स्थगित हुँदै आएको थियो । शुक्रबार कांग्रेस सांसदहरू निस्केपछि बसेको समिति बैठकले जोशीबारे मतदान भएको थियो। 

समितिका सभापति लक्ष्मणलाल कर्णले जोशीलाई अस्वीकृत गर्ने पक्षमा १० भोट र स्वीकृत गर्नेमा शून्य भोट परेकाले उनको सिफारिस अस्वीकृत भएको बताए। १५ सदस्यीय समितिमा नेकपाको ९ र संघीय समाजवादी फोरमको १ गरी सत्तारुढ दलको १० अर्थात दुई तिहाई मत थियो । 

साउन १० गते संसदीय सुनुवाइ भएका जोशीका शैक्षिक प्रमाणपत्र, जन्ममिति र फैसला विवादस्पद देखिएपछि समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको हो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया