मलेसियाबाटै गिट्टी कुट्ने निधो गरेर फर्किएका दिनेश कामदारबाट साहु भए

 साउन १८, २०७५ शुक्रबार १४:५६:२७

तारानाथ फुयल/खोटाङ ।

‘जति पढेपनि विदेश नै त जानुपर्ने हो भन्ने लागिरहन्थ्यो’ दिनेश राईले केटाकेटी बेलाको सोच सुनाउनुभयो । तर त्यही केटाकेटी सोचले ठूलो हुँदा पनि छोडेन । एसएलसी पास भएदेखि नै उहाँ विदेश जाने सुर कसेर काठमाडौं धाउन थाल्नुभयो ।

४ पटक काठमाडौं आउँदा जाँदा २५ हजार सकियो । पाचौं पटक काठमाडौं आएका दिनेश २०६३ साल फागुनमा मलेसिया उड्नुभयो । बानेश्वरमा रहेको केएनके ओभरसिजलाई ६५ हजार रुपैयाँ तिरेर फर्निचरको काममा जानुभयो ।

जाने बेला म्यानपावरलाई दिएको ६५ हजारसँगै लागेको अरु पैसा सयकडा ३ रुपैयाँ ब्याजमा लिएको ऋण थियो । म्यानपावरले उहाँलाई ४८१ रिंगिट हुन्छ भनेको थियो । मलेसिया पुगेपछि दिनेशले ४१६ रिंगिट पाउनुभयो । त्यसमा पनि लेभी त्यही तलबबाटै काटिन्थ्यो । खाने, बस्ने खर्च पनि आफ्नै । त्यसैले जाँदा दिएको ऋण तिर्न उहाँलाई दुई वर्ष लाग्यो । 

दुई वर्ष कटेपछि तलब बढ्यो । काम पनि सजिलो हुँदै गयो । त्यसैले ५ वर्ष बसेर बिदामा घर आउनुभयो । बिदा सकेर फर्किएका दिनेशका थप ४ वर्ष उतै बिते । ८ वर्ष कटेपछि दिनेशलाई विदेशको बसाई उपलब्धीमूलक लाग्न छोड्यो । 

‘म पैसा कमाउन विदेशमा छु, तर गाउँमै पनि केही गरेर कमाउन सकिन्छ होला नि भन्ने लाग्थ्यो’ दिनेश सुनाउनुहुन्छ ‘पैसाका लागि अर्काको खटनमा बस्नुपर्ने अनि परिवारभन्दा टाढा यही कुरा दिमागमा आइरहन्थ्यो ।’

यही कुराले पिरोल्न थालेपछि उहाँ मलेसियाको बसाई सधैंलाई टुङ्ग्याएर घर फर्किनुभयो । ‘फर्किने बेला केही भएन भने गिट्टी कुटेर भएपनि खान्छु भन्ने सोचेको थिएँ’ गिट्टी कुट्ने योजना बनाएर फर्किएका दिनेशले त्यही नै काम थाल्नुभयो गाउँमा । त्यो पनि घर आइपुगेको एक हप्ता पनि नबित्दै । 

विदेशबाट फर्किएलगत्तै गिट्टी कुट्न थाल्दा राम्रो गरिसभन्ने भन्दा पनि नाक खुम्च्याउने धेरै थिए गाउँमा । तर उहाँले त्यो टिप्पणीलाई त्यति धेरै वास्ता गर्नुभएन । ‘जसले जे भनेपनि म मेरो काम छोड्दिन भनेर लागिरहें’ दिनेश भन्नुहुन्छ । 

उहाँले काम थाल्ने बेला पहिला पहिला गिट्टी कुट्नेहरुले पनि काम छोडिसकेका थिए । तर पनि उहाँ न आत्तिनुभयो न हतास नै हुनुभयो । कामले काम सिकायो अनि कामले पैसा कमाउन पनि सिकायो दिनेशलाई । 

यही निरन्तरताले उहाँलाई अहिले गिट्टी कुट्ने कामदारबाट गिट्टी उद्योगको साहु बनाएको छ । दुई वर्ष गिट्टी कुटेपछि उहाँले आफैं घर बनाउने ठेक्का पनि लिन थाल्नुभयो । २०७२ सालको भूकम्पले धेरै घर भत्किएर बनाउनुपर्ने भएपछि उहाँले धेरै काम पाउनुभयो । 

मजदूरका रुपमा गिट्टी कुट्न सुरु गरेका दिनेश राईलाई यही कामले १० जनालाई रोजगार दिने साहु बनाइदिएको छ । एक जना कामदारलाई महिनाको २५ हजार रुपैयाँ तलब दिनुहुन्छ । उहाँ आफू चाहिँ अहिले महिनाको ४० हजार रुपैयाँ कमाउनुहुन्छ । 

परिवारसँग बसेर कमाइरहेका दिनेश खुशी हुनुहुन्छ । त्यो भन्दापनि खुशी त उहाँलाई समाजको हेर्ने दृष्टिकोण फेरिएकोमा लाग्छ । उतिबेला गिट्टी कुट्ने भन्नेहरु अहिले उहाँको प्रशंसा गर्छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया