सभामुख महरा सबै दलको साझा बन्न नसकेको कांग्रेसको आरोप

 साउन १८, २०७५ शुक्रबार १५:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । 

शुक्रबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सबै दलको साझा बन्न नसकेको निष्कर्ष निकाल्दै सभामुख महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको हो । मन्त्रीहरुले बोलेपछि प्रश्नोत्तर गर्न पाइने व्यवस्था हुँदाहुँदै सभामुख महराले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफूहरुलाई बोल्न नदिएको कांग्रेसको आरोप छ । 

यस सम्बन्धमा सभामुख महरालाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । बिहीबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बोलेपछि कांग्रेस सांसदहरुले मन्त्रीसँग प्रश्न गर्न माग गरेका थिए । तर सभामुख महराले मन्त्रीसँग प्रश्नोत्तर गर्ने छुट्टै व्यवस्था रहेको भन्दै बैठकलाई अघि बढाएपछि कांग्रेसले बैठक बहिष्कार गरेको थियो । 

सभामुखको भूमिकाप्रति कांग्रेसको असन्तुष्टि रहँदै आएको छ । प्रमुख सचेतक खाँडले संघीय संसद नियमावलीको धारा २ सय १९ बमोजिम मन्त्रीसँग प्रश्न गर्ने व्यवस्था भए पनि सभामुखले नदिएको आरोप लगाउनुभयो । बैठकमा कांग्रेसले विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्तावका विषयमा पनि छलफल गरेको थियो ।

कांग्रेस संसदीय दलको बैठकले मौलिक हकसम्बन्धी कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल ल्याउन पनि सरकारसँग माग गरेको छ । जनताको पक्षमा ऐन बनाउने गरी संविधान बमोजिमको मौलिक हक सम्बन्धि कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल संसदमा ल्याउन पनि सरकारसँग माग गरिएको प्रमुख सचेतक खाँडले जानकारी दिनुभयो । 

संविधान बमोजिम आगामी असोज ३ गते भित्र मौलिक हकसम्बन्धी सबै कानुन निर्माण गरी सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेसले पार्टीको संसदीय दललाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गर्न शनिबार पनि संसदीय दलको बैठक बोलाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया