टिनले छाएको घरमा बस्ने रहर पूरा भएपछि टाम्के कामीले भने, ‘बल्ल सरकार आयो’

छत्रदेवका सबै घरमा जस्ताकाे छानाे

 साउन १८, २०७५ शुक्रबार १५:५:४९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – झण्डै एक वर्ष अघि छत्रदेव गाँउपालिका वडा नं ३ मौवा पोखरी लोहरी निवासी ५३ वर्षीय टाम्के कामीले साहुको पसलबाट उधारोमा लगेर घरमा टिन लगाउनुभयो । दिनहुँ मजदुरी गरेर खाने टाम्के कामीले घरमा लगाएको टिनको पैसा समयमै तिर्न नसके पछि ६ महिना पछि साहुले घरमा लगाएको टिन उखेलेर लगे । 

घरमा लगाएको टिन भनेको समयमा पैसा तिर्न नसक्दा साहुले उखेलेर लगेपछि उहाँले पहिले जस्तै सल्ला, पराल र खरले घर छाएर बस्नुभएको थियो । तर अहिले छत्रदेव गाँउपालिकाले टिन दिएपछि टिनले छाएको घरमा बस्न पाँउदा उहाँको परिवार मख्ख छन् । 

गाँउपालिकाले हुलासको २७ पाता जस्ता पाता दिएपछि उहाँले घरमा टिन लगाउनु भएको हो । उहाँले भन्नुभयो ‘पहिले ऋण तिर्न नसक्दा साहुले टिन नै उखेलेर लग्यो । अब कसले उखेल्छ म त सारै खुशी छु ।  बल्ल मेरो लागि सरकार आयो ।  मेरो वर्षौँ देखिको टिनले छाएको घरमा बस्ने रहर पूरा हुने भयो ।

‘२० वर्षदेखि एउटा घडेरी किनेर खरको छानोमा बस्दै आएका थियौँ । श्रीमान् रोगी हुनुहुन्छ केही काम गर्न सक्नुहुन्न । खरले छाएको घर  पानी आउँदा चुहिन्थ्यो ।  गर्मीमा आगलागीको डरले दिन रात चिन्ता हुन्थ्यो । टिन पाएपछि अब ढुक्कले बसेका छौँ ।’ छत्रदेव २ बल्ल्कोट झिरबासकी बिष्णु माया नेपालीले बताउनुभयो । ‘घरमा टिन लगाउने सोचेका पनि थिएनौ अहिले गाँउपालिकाले बोलाएर टिन दिएपछि घरमा टिन लगायौँ साह्रै खुशी छु’ उहाँले भन्नुभयो ।

टाम्के कामी र बिष्णुमाया नेपाली  मात्र हैन छत्रदेव गाँउपालिकाका खरको छानो भएका मानिसहरु जस्ता पाताले घर छाउन पाउँदा निकै खुशी भएका छन्  । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा गाउँपमलिकाले नै खरको छाना भएका घर हटाई घरमा जस्ता पाता  लगाउन जस्ता वितरण गरेको थियो । 

छत्रदेव गाँउपालिकाले गाउँमा भएका खरको छानो हटाइ जस्ता पाता लगाउने निर्णय अनुसार गाँउ कार्यपालिकाको सभाले एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।  १ करोड २० लाखको १ हजार एक सय ३५ बण्डल हुलासको गुराँस छाप टिन खरिद गरि वितरण गरिएको छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । प्रत्येक घरमा २७ पाताका दरले जस्ता दिएको हो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया