धरौटी रकम फिर्ता गराउन प्रधानमन्त्रीदेखि दलका नेतासम्मलाई लबिङ गर्दै म्यानपावर व्यवसायी

 साउन १८, २०७५ शुक्रबार १६:१:१० | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले म्यानपावर सञ्चालनका लागि राख्नुपर्ने धरौटी रकम बढाउने तयारी गरेपछि व्यवसायीले त्यसलाई रोक्न लबिङ थालेका छन् । 

धरौटी रकम बढाउने प्रस्तावसहितको वैदेशिक रोजगार ऐन शंसोधनको प्रस्ताव मन्त्रीपरिषदमा पुगेपछि व्यवसायीले त्यसलाई रोक्न लबिङ थालेका हुन् । व्यवसायीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेताहरुलाई भेटेर धरौटी रकम बढाएर वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान नहुने भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् । 

उनीहरुले ऐन शंसोधन गरेर कामदार लिने र पठाउने देशबिच सहकारी तहमै कामदारले सेवा सुविधाको टुङ्गो लगाउनुपर्ने भन्दै कामदार पठाए बापत म्यानपावरले १० हजार रुपैयाँ मात्रै लिन पाउने अहिलेको व्यवस्था पनि व्यवहारिक नभएको बताएका छन् । 

त्यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरेर समस्याको समाधान खोज्न प्रधानमन्त्रीले सुझाव दिएको भेटमा सहभागी वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको जवाफपछि व्यवसायीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँगै दलका नेतासँग पनि छलफल गर्ने तयारी गरेका छन् । महासचिव गेलालका अनुसार दलका नेताहरुलाई आजै भेट्ने तयारी छ भने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई भोलि भेटेर छलफल गर्ने तयारी भइरहेको छ । 

नगद ७ लाख र बैंक ग्यारेण्टी २३ लाख गरी ३० लाख राख्नुपर्ने अहिलेको ऐन शंसोधन गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ करोड पुर्‍याउन लागेको खबर सार्वजनिक भएपछि व्यवसायीहरु त्यसलाई रोक्ने प्रयासमा लागेका हुन् । 

याे पनि पढ्नुहाेस् । 

सरकारले धरौटी बढाउँदा म्यानपावर व्यवसायी संघमा ‘भूइँचालो’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया