साप्ताहिक शेयर समीक्षा : शेयरबजारमा यो हप्ता के-के भयो ?

 साउन १८, २०७५ शुक्रबार १७:३८:४० | ज्याेति दाहाल
unn.prixa.net

काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ८१वटा कम्पनीको १५ हजार ३ सय वटा कारोबारमार्फत १ अर्ब ७ करोड ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार ५ सय २० कित्ता शेयर किनबेच भएका छन् |

यस हप्ता ६ करोड ८७ लाख १० हजार रुपैयाँ रकम र ३ लाख ३५ हजार कित्ता शेयरको आधारमा माछापुच्छ्रे बैंकले कारोबारमा अग्रता लिएको छ भने ७ सय ३१ पटक कारोबार भएर जलविद्युत लगानी तथा विकास कम्पनीले अग्रता लिएको छ | रकमको आधारमा माछापुच्छ्रे बैंक पछि एनएमबी बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेको इन्सुरेन्स (संस्थापक) र सानिमा माई हाइड्रोपावर क्रमशः रहेका छन् |

नेपाल स्टक एक्सचेन्जको संचालक समितिको बैठक बस्न नसक्दा धितोपत्र बोर्डले स्वीकृत गरेको सूचीकरण विनियमावली लागू हुन नसकेका कारण यस हप्ता कुनै पनि कम्पनीको शेयर सूचीकरण भएन | विनियमावली लागू हुनको लागि एक्सचेन्जको बैठक बसी लागू हुने मिति तोक्नुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ | साविकको विनियम खारेज भैसकेको छ | सूचीकरण विनियमावलीसँगै खारेजीमा परेको कारोबार विनियमावली पनि लागू हुनसकेको छैन | कारोबार विनियमवालीबिना नै अहिले कारोबार भैरहेको छ |

यस हप्ता कारोबार हुने कम्पनी बढेको छ | कम्पनी बढ्दा कित्ता र कारोबार संख्या घटे पनि कारोबार रकम बढेको देख्न सकिन्छ | कारोबार रकम गएको हप्ता भन्दा १ दशमलब ९४ प्रतिशतले बढी हो |

साताभरको नेप्से सूचक र नेप्से सूचकलाई प्रभाव पार्ने समूहको उतारचढाव निम्नबमोजिम रहेको छ |

पहिलो दिन आइतबार बजार बन्द हुँदा ११ सय ९४ दशमलब ९२ अंकमा रहेको नेप्से सूचक अन्तिम दिन बिहीबार बजार बन्द हुँदा ३ दशमलव ५१ अंकले घटेर ११ सय ९१ दशमलब ३१ अंकमा पुगेको छ | अघिल्लो हप्ताको तुलनामा शून्य दशमलब ११ अंकले बढेर बन्द भएको छ |

समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको परिसूचक अघिल्लो हप्ताको तुलनामा पहिलो र दोस्रो दिन बढेर, तेस्रो दिन घट्दै चौथो र पाँचौ दिन बढेर बन्द भएको छ |

पहिलो दिनको तुलनामा अन्तिम दिन  २ दसमलब शून्य ७ अंकले बढेर बन्द भएको छ भने अघिल्लो हप्ताको तुलनामा ५ दशमलब शून्य १ अंकले बढेको छ | निर्जीवन बीमा समूहको परिसूचक साताभर तथा अघिल्लो हप्ताको तुलनामा सबैभन्दा धेरै घटेको छ | नेप्सेले सूचीकृत कम्पनीलाई विभिन्न ११ समूहमा वर्गीकरण गरेको छ |

यस हप्ता शेयर कारोबार ५ दिन पूरै खुलेको थियो |

लाभकर गणनासम्बन्धी विषयमा अझ पनि निर्णय आएको छैन | यसले पनि बजारमा अन्योल बढाउन मद्दत पुगेको छ | कम्पनीहरुले वार्षिक वित्तीय प्रतिवेदन प्रकाशन गर्न थालेका छन् | केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिंग स्ट्यान्डर्ड (एनएफआरएस) विधिबाट वित्तीय विवरण सार्वजनिक गर्न परिपत्र गरेपछि वित्तीय प्रतिवेदन बुझ्न अलि कठिनाइ भएको जस्तो देखिएको छ |

महंगो मूल्य राखेको भनेर आलोचना खेपेको नेपाल बैंकले जारी गरेको एफपीओमा पर्याप्त आवेदन पर्न सकेन |

स्वरोजगार लघुवित्त (भाद्र १७), नागबेली लघुवित्त(भाद्र ७), नेशनल लाइफ (भाद्र ४),मिर्मिरे लघुवित्त (श्रावण २९), समता लघुवित्त (श्रावण २९), सिनर्जी फाइनान्स(श्रावण २७), सिद्धार्थ इन्सुरेन्स (श्रावण २०), आरएसडीसी लघुवित्त (श्रावण २०) र जेविल्स फाइनान्स (श्रावण २८)को हकप्रद खुलिरहेको छ | कम्पनीको नाम पश्चातको कोष्ठ भित्रको मिति हकप्रदमा आवेदन गर्ने अन्तिम दिन हो | जेविल्स फाइनान्सको हकप्रदमा आवेदन गर्ने अन्तिम मिति श्रावण १३ गते आइतबारसम्म रहेको भए पनि १५ दिन म्याद थप गरिएको छ |

यसै हप्ता उन्नति लघुवित्तका संचालक र मेगा बैंकका स्वतन्त्र संचालकले राजीनामा दिएका छन् | जलविद्युत लगानी तथा विकास कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको छ | कम्पनीको हाल चुक्ता पूँजी १० अर्व रहेको छ | हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी २० अर्व पुग्नेछ | कम्पनीले आगामी साधारणसभामा विशेष प्रस्ताव पेश गरि वा तत्काल विशेष साधारणसभा गरी हकप्रद जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेपछि मात्र जारी प्रक्रिया सुरु हुनेछ | 

धितोपत्र बोर्डले महिनाको दोश्रो र अन्तिम शुक्रबार आफ्नै कार्यालय जावलाखेलमा नि:शुल्क प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ | यो महिनाको २५ गते पहिलो सत्र हुनेछ | धितोपत्र र कमोडिटी बजार सम्बन्धमा बोर्डले प्रशिक्षण दिने भएको छ |

अन्तिम अपडेट: बैशाख ४, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया